संक्रमण फैलिएपछि विद्यालयका ढोकामा ताला

0
Shares

कविराज नेपाल, पाल्पा । 

कोरोनाका कारण करिब ८ महिनापछि विस्तारै खुल्न थालेका विद्यालयहरूको ढोकामा फेरि ताला लागेका छन् । विद्यालयमा धमाधम कोरोना देखिन थालेपछि विद्यालयहरू बन्द गरिएको हो । पाल्पामा रहेका सामुदायिक र संस्थागत विद्यालय गएको दुई हप्तादेखि मात्रै स्थानीय तहको स्वीकृतिमा खुल्न थालेका थिए ।

कतिपय विद्यालयमा शिक्षक र विद्यार्थीमा कोरोना देखिन थालेको छ । पश्चिम पाल्पाको रैनादेवी छहरा गााउँपालिका–५ मुझुङस्थित कालिका माध्यमिक विद्यालयमा कार्यरत दुई जना शिक्षकमा कोरोना भाइरसको संक्रमण देखिएपछि केही दिनका लागि पठनपाठन बन्द गरिएको प्रधानाध्यापक जनार्दन पाण्डेले जानकारी दिनुभयो । कोरोनाका कारण विद्यालय वन्द भएको र आउँदो आइतबारदेखि मात्रै विद्यालयमा पुनः पठनपाठन शुरु हुने प्रध्यानाध्यापक पाण्डेको भनाइ छ ।

त्यसै गरी, जिल्लाको पूर्वखोला गाउँपालिकामा पनि केही विद्यालय बन्द रहेको गाउँपालिकाका शिक्षा शाखा अधिकृत डिल्लीराम ढुंगानाले बताउनुभयो । गाउँपालिकाको वडा नंं २ स्थित शम्भु माध्यमिक विद्यालयका शिक्षकमा कोरोना देखिएको छ भने सोही वडाको कमला प्राथमिक विद्यालयमा पनि संक्रमण देखिएपछि बन्द गरिएको छ । संक्रमण देखिएको क्षेत्रमा विद्यालयको प्रत्यक्ष सम्पर्क भएकाले विद्यालयहरु बन्द गरिएको हो । गाउँपालिका शिक्षा शाखाका अनुसार पुस २ गतेसम्मका लागि यी विद्यालयहरु बन्द रहेका हुन् । यसअघि पाल्पाका रामपुर, रम्भालगायतका स्थानीय तहका विद्यालयहरु खुल्ने र बन्द हुने गरेका थिए ।

लामो समयपछि स्थानीय तहले स्वास्थ्य मापदण्ड पालना गरी विद्यालयमा पठनपाठन शुरु गर्न सकिने र विद्यालय खोल्न सकिने अनुमति दिएपश्चात् यहाँका विद्यालयमध्ये कुनै पुरानै संरचनामा त कुनैमा विभिन्न सिफ्टअनुसार सञ्चालन गरिएका थिए । तर, पछिल्लो समय समुदायका व्यक्ति, शिक्षक र विद्यार्थीमा समेत कोरोना संक्रमण देखिन थालेपछि विद्यालयमा पठनपाठन फेरि प्रभावित बनेका होे ।

बुधबार पाल्पामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार पूर्वखोला गाउँपालिकाका २ जना, रैनादेवी छहरा गाउँपालिकाका १ जना, बगनासकाली गाउँपालिकाका १ जना, निस्दी गाउँपालिकाका १ जना र तानसेनका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै पाल्पामा १ हजार ७ सय ३२ जना कोरोना संक्रमित भएका छन् भने १ हजार ५ सय ७७ जना निको भएका छन् ।

स्वास्थ्य कार्यलयका अनुसार कोरोनाका कारण २९ जनाको मृत्यु भएको छ । अहिले जिल्लामा कुल सक्रिय संक्रमितको संख्या १ सय २६ पुगेको छ । जिल्लामा अहिलेसम्म ९ सय ४१ जना समुदायस्तरका व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । तीमध्ये महामारीको अग्रभागमा रहेर काम गर्दै आएका ७८ जना स्वास्थ्यकर्मी रहेका छन् ।