गणतन्त्रको विकल्प नभएको मुख्यमन्त्री राईको दाबी

0
Shares

नेपाल समाचारपत्र, विराटनगर । 

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले नेपाली जनताको संघर्षपछि आएको संघीयतालाई कसैले पनि समाप्त पार्न नसक्ने बताउनुभएको छ । विराटनगर–१४ मा निर्माण हुन लागेको प्रदेश जनस्वाथ्य प्रयोगशालाको मंगलबार शिलान्यास गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।

नेपाली जनताका लागि संघीयता उपहार भएको भन्दै संघीय प्रणालीअन्तर्गत सरकारले धेरै काम गरेको उहाँले बताउनुभयो । केही मानिस सडकमा संघीयताको विरोध गर्दै अर्को विकल्प चाहियो भन्छन् तर आफू सत्तामा हुँदा वा आफ्नो पालाको सरकारमा उनीहरूले देश र जनताका लागि के काम गरे भन्ने प्रश्न गर्दै मुख्यमन्त्री राईले गणतन्त्रको विकल्प राजतन्त्र कदापि नहुने बताउनुभयो । संघीयता नेपाली जनतामा स्थापित भइसकेकाले अर्को व्यवस्था अब सम्भव नरहेको उहाँले प्रस्ट पार्नुभयो ।

आम नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउनु सरकारको दायित्व भएको बताउँदै प्रदेश ल्याब सञ्चालनमा आएपछि सबै प्रकारको सेवा यही ल्याबबाट सर्वसाधारणले पाउने मुख्यमन्त्री राईको भनाइ छ ।

कार्यक्रममा प्रदेश–१ का समाजिक विकासमन्त्री जीवन घिमिरेले विकास निर्माणमा प्रदेश सरकाले ठूलो फड्को मारेको भन्दै ल्याब सञ्चालनमा आएपछि नेपालीले उपचारका लागि दिल्ली र बम्बई जानु नपर्ने बताउनुभयो । उहाँले आगामी ६ महिनाभित्र प्रयोगशाला भवन निर्माणको काम सम्पन्न भइसक्ने प्रतिबद्धतासमेत जनाउनुभयो ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले कोभिड नियन्त्रणका लागि प्रदेश सरकार र महानगरपालिकाको सहकार्यमा उल्लेखनीय काम भएको बताउनुभयो । कार्यक्रममा प्रदेश सभासद् जयराम यादव, प्रयोगशाला विज्ञ सन्तोष उपाध्याय काफ्ले, सेभ द चिल्डेनका हरिबोल गजुरेल, प्रदेश प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवलगायतले प्रदेश ल्याब स्थापना हुनु प्रदेशवासीका लागि गौरव र खुसीको कुरा भएको बताउनुभयो ।

सेभ द चिल्डेनको सहयोगमा ८ कठ्ठा १२ धुर जग्गामा ८ करोडको लागतमा चारतले प्रयोगशाल भवन निर्माण हुन लागेको निर्माण पक्षले जनाएको छ । पहिलो तलामा नसर्ने रोगको प्रयोगशाला, दोस्रो तलामा सर्ने रोग र तेस्रो तलामा पीसीआर परीक्षण प्रयोगशाला सञ्चालनमा आउने डा. प्रतीक्षा कार्कीले बताउनुभयो ।