इनपामा एकैदिन २० जना संक्रमित


नेपाल समाचारपत्र, इलाम

आइतबार एकैदिन इलाम नगरपालिकामा २० जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । जिल्लामै पहिलोपटक यतिको संख्यामा कारोना संक्रमित थपिएका हुन् ।

संक्रमित सबै इलाम नगरपालिका–७ का रहेको स्वास्थ्य कार्यालय इलामका कोभिड–१९ फोकल पर्सन विमल बरालले जानकारी दिनुभयो । संक्रमित १४ दखि ६१ वर्ष उमेर समूहका रहेका छन् । इलामनगरपालिकामा एकैदिन २० जना संक्रमित थपिएसँगै यस नगरमा संक्रमितको संख्या १ सय २ पुगेको छ भने इलाममा संक्रमित संख्या २ सय २५ पुगेको छ ।

कोरोना पोजेटिभ देखिएका ब्यक्तिहरुको सम्पर्कमा आएकाहरुको सोमबार वा मंगलबार स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाइने फोकल पर्सन बरालले बताउनुभयो । उहाँका अनुसार इलाम नगरपालिकामा संक्रमित देखिएकामध्ये ११ जना इलाम अस्पतालको आइसोलेसनमा रहेका छन् भने अन्य अरू सबै जना होम आइसोलेसनमा बसेका छन् ।

स्वास्थ्य कार्यालय इलामका अनुसार कोरोना संक्रमित सबैभन्दा धेरै हुने जिल्लाका स्थानीय तहमध्ये इलाम नगरपालिका नै रहेको छ । त्यसपश्चात् सूर्योदय नगरपालिकामा ३७ जना, देउमाई नगरपालिकामा ४ जना, माईनगरपालिकामा २४ जना, सन्दकपुर र माईजोगमाई गाउँपालिकामा ८–८ जना, चुलाचुली गाउँपालिकामा २६ जना, रोङ गाउँपालिकामा ९ जना, फाकफोकथुम गाउँपालिकामा ५ जना र माङ्सेबुङ गाउँपालिकाम २ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

संक्रमित भएका मध्ये १ सय ६८ जनाले कोरोना जित्न सफल भएका छन् । यस्तै जिल्लामा कोरोना संक्रमणबाट हालसम्म ९ जनाले ज्यान गुमाइसकेका छन् । गत जेठ २७ गते इलाममा पहिलोपटक भारत चेन्नईबाट आएका २६ वर्षीय सूर्योदय नगरपालिकाका २६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो ।