भौतिक पूर्वाधार र सेवा सुधारमा पर्वत अस्पताल उत्कृष्ट


दुर्गाप्रसाद शर्मा, पर्वत

भौतिक पूर्वाधार निर्माण र सेवा–सुधारका हिसाबले पर्वत जिल्ला अस्पताल गण्डकी प्रदेशमा नै उत्कृष्ट भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले न्यूनतम सेवा मापदण्ड मापन गर्दा एक वर्षमा सबैभन्दा बढी भौतिक संरचना निर्माण र स्वास्थ्य सेवा प्रवाहका हिसाबले सुधार गरेका कारण पर्वत अस्पताल प्रदेशमै उत्कृष्ट घोषणा गरेको हो ।

गण्डकी स्वास्थ्य निर्देशनालयबाट प्रदेशका ११ वटै जिल्ला अस्पतालहरुको व्यवस्थापन सुदृढीकरण मूल्यांकनअन्तर्गत ‘न्यूनतम सेवा मापदण्ड’ मूल्यांकनले गरेको थियो । त्यसमध्ये पर्वत अस्पताले अघिल्लो आर्थिक वर्ष ४७ प्रतिशत नतिजा हासिल गरेकोमा यस आर्थिक वर्षमा बढेर ७८ प्रतिशत अंक पाएको छ । सुशासन तथा व्यवस्थापन, उपचार सेवा व्यवस्थापन र अस्पताल सहयोग सेवा गरी ३ वटा मूल विषयभित्र रहेर कुल ७ सय ६१ वटा सूचकमा गरिएको मूल्यांकनमा अस्पतालले उक्त नतिजा पाएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो । ‘अघिल्लो अवधिमा प्राप्त भएको नम्बरमा एकै अवधिमा ३१ नम्बर बढी आउने गरी सुधार गर्ने पर्वत अस्पताल गण्डकी प्रदेशकै पहिलो हो’, उहाँले भन्नुभयो– ‘अस्पतालमा शुरु भएका भौतिक निर्माणका काम र यहाँबाट प्रदान भइरहेका सेवा दुवै पक्षमा राम्रो सुधार भएको छ ।’ समय अस्पतालमा थप हुँदै गएका सेवा–सुविधालाई निर्बाधरूपमा सञ्चालन गर्न सक्नुपर्ने उहाँको सुझाव छ ।

विगत २ वर्षमा पर्वत अस्पतालमा अप्रेसन सेवा, डिजिटल एक्सरे सेवा, ल्याब सेवा, मृगौला डायलासिस सेवा, शव चिस्यान केन्द्र, अक्सिजन प्लान्ट, आईसीयू, भेन्टिलेटर, गरिबहरुका लागि विपद् कोष स्थापना, विशेषज्ञ सेवा, अत्याधुनिक अस्पताल भवन निर्माण, आय–व्ययमा सफ्टवेयर प्रणाली लागू गर्नेलगायतका सेवा थप गरिएको र अस्पतालमा आवश्यक पर्ने उपकरण तथा मेसिन औजार व्यवस्थापन गर्न विभिन्न संघ–संस्थासँग समन्वय गरिरहेको कुरालाई स्वास्थ्य निर्देशनालयले प्रमुख उपलब्धि मानेको छ ।

अस्पताल विकास समितिका अध्यक्ष गोविन्द पहाडीले व्यवस्थापन समितिको क्रियाशीलता, स्रोत–साधन जुटाउन गरेको मिहिनेत, विभिन्न संघ–संस्थाको सहयोग तथा अस्पतालका कर्मचारीहरुको अथक प्रयासले मात्रै अस्पतालको सेवा–सुविधामा सुधार भएको र उल्लेख्य नतिजा हासिल गरेको बताउनुभयो । ‘यो सफलता पाउनको लागि सरकारदेखि मातहतका निकाय, अस्पताल विकास समिति, सहयोग तथा चन्दादाता, कार्यरत कर्मचारीलगायत सबैको अमूल्य पसिना परेको छ’, उहाँले भन्नुभयो– ‘यो ऐतिहासिक सफलताले हामीलाई काम गर्न झनै हौसाएको छ । हामी झनै उत्साहका साथ काम गर्नु भनेको आम नागरिकले अस्पतालबाट अझै सुविधा प्राप्त गर्नु हो ।’

मूल्यांकनकर्ताहरुको अध्ययनपश्चात् आयोजना गरिएको नतिजा प्रस्तुति कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बी पौडेलले पर्वत अस्पतालले पछिल्ला दिनमा आफना सेवा–सुविधा र व्यवस्थापनमा व्यापक सुधार गरेकै कारण जनविश्वास आर्जन गरिरहेको धारणा राख्नुभएको थियो ।