२७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र बालभिटा खुवाइने

0
Shares

काठमाडौं, (नेस)

देशभरिका ६ महिनादेखि ५९ महिनाका २७ लाख १८ हजार ४ सय ५९ बालबालिकालाई बिहीबार र शुक्रबार दुई दिन भिटामिन ‘ए’ खुवाइँदै छ ।

भिटामिन ‘ए’ खुवाउने नियमित तालिका गत कात्तिक २ र ३ गते तोकिएको भए तापनि त्यति बेला चाडपर्व परेका कारण एक महिनापछि खुवाउन थालिएको स्वास्थ्य सेवा विभाग, महिलाकल्याण महाशाखा, पोषण शाखाका जनस्वास्थ्य अधिकृत कल्पना पाण्डे बताउनुहुन्छ । यसअघि कोरोना भाइरसका कारण वैशाखमा भिटामिन ‘ए’ कार्यक्रम लागू हुनुपर्नेमा गत असार २२ र २३ गते सञ्चालन गरिएको थियो ।

विगतका वर्षमा जेजस्ता कठीनाई आउँदा पनि तोकिएको तालिकालाई यथावत् राख्दै आएको भए पनि यस वर्ष भने कोरोना र दशैं–तिहारका कारण तोकिएको ठ्याक्कै समयमा कार्यक्रम सञ्चालन गर्न नसकिए पनि एक डेढ महिनाको फरकमा व्यवस्थापन मिलाउँदै आएको पाण्डे बताउनुहुन्छ ।

यतिबेला देशव्यापीरुपमा ७ सय ५३ स्थानीय तहका सबै वडामा स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ खुवाउन थालिएको पाण्डेले जानकारी गराउनुभयो । सरकारले विसं २०५० देखि कुपोषणबाट बचाउन र भिटामिन ‘ए’बाट हुने रोग नियन्त्रण गर्न भिटामिन ‘ए’ कार्यक्रम लागू गरेको हो ।

भिटामिन ‘ए’सँगै जुकाको औषधि (अल्वेन्डाजोल) र बालभिटा पनि खुवाइदै आएको छ । यो खोप कार्यक्रमलाई सफल बनाउन देशव्यापीरुपमा झन्डै ५२ हजार स्वयंसेविका कार्यक्रममा खटिएका छन् । भिटामिन ‘ए’सँगै एकदेखि पाँच वर्ष उमेर समूहका बालबालिकालाई जुकाको औषधी खुवाइन्छ ।

यसपटक जुकाको औषधी २४ लाख ८ हजार ३ सय ३० बालबालिकालाई खुवाउने लक्ष्य रहेको पाण्डे बताउनुहुन्छ । सन् २००० देखि जुका र आर्थिक वर्ष २०६६÷६७ देखि बालभिटा खुवाउन थालिएको हो ।

नेपालका ४६ जिल्लामा बालभिटा लागू भएका छन् र ती जिल्लामा भिटामिन ‘ए’सँगै बालभिटा क्याप्सुल खुवाउने कार्यक्रम रहेको पनि उहाँले जानकारी गराउनुभयो ।