नयाँ मुकुटमा बराह अवतार

कार्तिक नाच शुक्रबार र शनिबार

70
Shares

न्युज अफ नेपाल, ललितपुर ।

बराहले लगाउने मुकुट करिब सय वर्षपछि फेरिने भएको छ ।

धेरै पुरानो र जीर्ण भइसकेकोले मुकुट फेर्न लागिएको हो । बराहले शिरमा नयाँ मुकुट लगाएर भोेलि शुक्रबार पाटन दरबार क्षेत्र मंगलबजारस्थित कार्तिक डबलीमा बेलुका बराह नाच देखाइने छ । भगवान् विष्णुको तेस्रो अवतार वराहको नाच हो । कार्तिक नाच अन्तर्गत नरसिंह नाचपछिको मुख्य आकर्षण भनेको बराह नाच हो । वराह नाच अन्तर्गत भगवान् विष्णुले हिरण्याक्षको वध गर्न वराहको अवतार लिनुभएको कथा छ । सो नाचमा इन्द्रगण र देवगणसहित बराह अवतार देखाईने छ ।

ललितपुर महानगरपालिका– १६ वडाले नयाँ मुकुटको लागि लाग्ने सम्पूर्ण खर्च व्यहोरेको कार्तिक नाच संरक्षण समितिका कार्यकारिणी सदस्य एवं प्रचार संयोजक सञ्जयराज शर्माले जानकारी दिनुभयो । अहिले प्रयोग गर्दै आएको मुकुट कति वर्ष पुरानो भनेर यकिन गर्न सकेको छैन । ‘ तैपनि हामीले सुने अनुसार अहिलेको मुकट सय वर्ष भन्दा बढी भइसकेको अनुमान गर्न सकिन्छ । ’ संयोजक शर्माले भन्नुभयो ।

१६ वडाकै सहयोगमा गत वर्ष नरसिंहले लगाउने मुकुट फेरिएको थियो । सोही वडाले कार्तिक नाचको अक्षयकोषको लागि शुक्रबार नै १० लाख रुपैयाँको चेक हस्तान्तरण गर्न लागिएको छ । कार्तिक नाचको निरन्तरताको लागि गत वर्ष प्रतिबद्धता व्यक्त गरे अनुरुप चेक हस्तान्तरण गर्न लागेको वडाअध्यक्ष निर्मलरत्न शाक्यले बताउनुभयो ।

कोरोना संक्रमणका कारण यस वर्ष वराह र नरसिंह नाच मात्र देखाउन लागिएको हो । कोरोना संक्रमणका कारण कलाकार र सञ्चारकर्मीहरु मात्र राखेर नाच देखाउने समितिले जनाएको छ । गत वर्ष कार्तिक नाच १२ दिनसम्म देखाइएको थियो । नाचको लागि विहीबार धार्मिक विधिपूर्वक नासद्यः (नाट्यश्वरी) को पुजा गरिएको थियो ।

कार्तिक नाच ३ सय ८० वर्ष पुरानो नाच रहेको छ । सो नाच मल्लकालका तीन जना राजाको परिकल्पना र श्रृजना हुन्। शुरुमा राजा सिद्धिनरसिह मल्लले १६९७ मा आफ्ना शिक्षा गुरु हरिवंश राजोपाध्याय र तन्त्र गुरु विश्वनाथ उपाध्यायलगायतका सहयोगमा सो नाचको शुरु गर्नुभएको थियो । नाचमा उहाँको छोरा श्रीनिवास मल्लले केही अशं थप गर्नुभएको थियो । त्यसैगरी योगनरेन्द्र मल्लले त्यसलाई जीवन्तता दिन थप योगदान दिनुभएको थियो ।

(फाइल फोटो )