ठगी अभियोगमा फरार नेकका तत्कालिन अध्यक्ष न्यौपाने पक्राउ

0
Shares

पुष्कर बुढाथोकी,भक्तपुर ।

भक्तपुरको चाँगुनारायण नगरपालिकामा सञ्चालित नेपाल इञ्जिनियरिङ कलेज चाँगुनारायणका तत्कालीन अध्यक्ष रामेछाप मन्थली नगरपालिका–८ घरभई काठमाडौं चण्डोलमा बस्दै आएका लम्बोदर न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ । इञ्जिनियरिङ कलेज सञ्चालनमा आर्थिक अनियमितता गरेको अभियोग लागेपछि फरार रहेका न्यौपानेलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पक्राउ गरेको व्यूरोका सूचना अधिकारी बेलबहादुर पाण्डेले जानकारी दिनुभयो ।

इञ्जिनियरिङ कलेजमा भएको आर्थिक अनियमितताबाट २३ करोड १० लाख २३ हजार ४४३ रुपैयाँ बेरुजु देखिएको र न्यौपानेको नाममा मात्रै तीन करोड ७१ लाख ५३ हजार ६५० रुपैयाँ बेरुजु रही ठगी गरेको अभियोग न्यौपानेलाई लाग्दै आएको थियो ।
आफ्नो आर्थिक अनियमितता र भ्रष्टाचार लुकाउन न्यौपानेले तत्कालीन अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई ७८ लाख रूपैयाँ घुस लिएको प्रमाण सार्वजनिक भएपछि पाठकले पदबाट राजीनामा दिनु परेको थियो । पक्राउ परेका न्यौपानेसहित पाँच जना विरुद्ध ठगी मुद्दामा व्यूरोले अनुसन्धान गरिरहेको छ ।

ठगी सम्बन्धि कसूरमा संलग्न ६४ वर्षीय लम्बोदर कुमार न्यौपानेलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । कलेजको सम्पत्ति विभिन्न परिपञ्च गरी संस्थालाई हानी,नोक्सानी गरी क्षति पु¥याई आफू र अन्य संलग्न व्यक्तिहरुलाई लाभ पुर्याई ठगी गर्ने कार्यमा संलग्न उनलाई लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको प्रहरीको भनाई छ ।

२०७० मंसिर २३ गतेदेखि २०७५ असोज १५ गतेसम्म उक्त कलेजको सञ्चालक समितिको अध्यक्ष रहेका न्यौपानेले २०७३ फागुन २० गते सञ्चालक समितिको बैठकले जनही १ करोड ५० लाख रुपैयाँ रकम बिल भरपाई पेश गर्न नपर्ने गरी कलेजको रकम सञ्चालकहरुले लिएको, कलेजको रकमबाट खरिद गरेको ४९ लाख ५६ हजार रुपैयाँ गाडी न्यौपानेले आफ्नो नाममा दर्ता गरी चलाएको, कलेजको लेटरप्याड र छापको दुरुपयोग गरी खर्च नै नभएको सचिवालयको खर्चको बहानामा न्यौपानेले ५७ लाख ५० हजार रुपैयाँ रकम झिकेको र न्यौपानेले काल्पनिक शीर्षक बनाई सादा कागजमा हस्ताक्षर गरी बिल भरपाई नचाहिने गरी आफ्नो कार्यकालको बिभिन्न मितिमा रकम झिकी ठगी गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

उनी उपर ठगी सम्बन्धि कसुरमा आवश्यक अनुसन्धान कार्य अगाडि बढाइएको, सम्पत्ति शुद्धिकरण अनुसन्धान बिभागबाट सम्पत्ति शुद्धिकरण सम्बन्धि कसुरमा अनुसन्धान भइरहेको तथा अख्तियार अनुसन्धान आयोगबाट घुस रिसवत सम्बन्धि मुद्दाको कसुरमा धरौटीमा रिहा भई उक्त मुद्दा बिचाराधिन रहेको व्यूरोले जनाएको छ ।