इन्जा ग्लोबल मिडिया कन्फ्रेन्सको तयारी अन्तिम चरणमा


नेपाल समाचारपत्र, काठमाडौं

नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल इन्जाको आयोजनामा आगामी हप्ता हुने दोस्रो इन्जा ग्लोबल मिडिया कन्फ्रेन्सको तयारी अन्तिम चरणमा पुगेको छ ।

यही मंसिर १४ गते आइतबार नोभम्बर २९ तारिखका दिन साँझ ठीक ८ बजेदेखि प्रारम्भ हुने मिडिया कन्फ्रेन्समा कोभिड १९ बाट नपाललगायत विश्वभर सञ्चार क्षेत्रमा परेको असर, यसबाट नेपाली सञ्चारकर्मीमा परेको प्रभाव, सञ्चारले लिएको बदलिँदो स्वरुप र आगामी दिनमा सञ्चार क्षेत्रले चाल्नुपर्ने कदमका बारेमा व्यापक बहस हुने जानकारी इन्जा ग्लोबलका उपाध्यक्ष, इन्जा एसियाका अध्यक्ष वरिष्ठ पत्रकार टंक पन्तले जानकारी गराउनुभएको छ ।

नेपाल, अमेरिकालगायत विश्वभरि छरिएका रहेका क्रियाशील नेपाली पत्रकारहरुको प्रतिनिधिमूलकरुपमा सहभागिता रहने ग्लोबल मिडिया कन्फ्रेन्सको उद्घाटन सञ्चार तथा प्रविधि मन्त्री पार्वत गुरुङले गर्नुहुनेछ भने नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यलगायतका वरिष्ठ पत्रकारहरु पनि अतिथिका रुपमा रहने गरी कार्यक्रम तय भइसकेको पनि इन्जा एसियाका अध्यक्ष पन्तले बताउनुभएको छ ।

वरिष्ठ पत्रकार पन्तका अनुसार कोरोना महामारीका कारण भर्चुवलमार्फत हुने इन्जा ग्लोबल मिडिया कन्फ्रेन्समा पत्रकारिता प्राध्यापनसमेत गर्नुहुने वरिष्ठ पत्रकारद्वय घमराज लुइँटेल र विष्णु शर्माले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

अमेरिकामा रहेर पत्रकारितामा क्रियाशील इन्जा ग्लोबलका अध्यक्ष वरिष्ठ पत्रकार गुणराज लुइँटेलको अध्यक्षतामा हुने कार्यक्रममा इन्जाका सल्लाहकार वरिष्ठ पत्रकारहरु तीर्थ कोइराला, तारानाथ दाहाल, तारा बराल एवं वन्दना राणा, बबिता बस्नेत र सञ्चारिका समूहकी अध्यक्ष नीतु पण्डितले कार्यपत्रमाथि टिप्पणी गर्नुहुनेछ ।

कोरोनाबाट प्रभावित भई जागिर गुमाएका वा बेतलबी बिदामा बस्न बाध्य पारिएका र काम जारी रहे पनि मिडिया हाउसबाट थोरै प्रतिशत मात्र पारिश्रमिक पाएका ८० जना पत्रकारलाई भर्खरै मात्र इन्जा फेलोसिपमार्फत आर्थिक सहयोग कार्यक्रम सम्पन्न गरेको इन्जाले प्रत्येक वर्ष नेपाली पत्रकारिता क्षेत्रमा उत्कृष्ट योगदान पु¥याउने पत्रकारहरुलाई नगदसहित इन्जा विशेष पुरस्कार र सम्मान पनि गर्ने गरेको छ । इन्जाले हरेक वर्षको मार्चमा इन्जा डे पनि भव्यताका साथ मनाउने गरेको छ ।

गएको वर्ष नेपालमा इन्जा डेलाई पत्रकारिताको व्यवसायिक विकास कसरी हुन सक्छ, राज्यको भूमिका के हुन सक्छ र पत्रकार स्वयंले के गर्नुपर्छ भन्ने विषयमा त्यतिखेर नेपालमा कार्यवाहक प्रधानमन्त्रीको पनि जिम्मेवारीमा रहनुभएका उपप्रधानमन्त्री ईश्वर पोखे्रलको प्रमुख आतिथ्यतामा विशेष कार्यक्रम गरिएको थियो ।

यस वर्ष हुने दोस्रो इन्जा ग्लोबल मिडिया कन्फ्रेन्सबाट आएको निष्कर्षलाई बुकलेटको प्रकाशित गरी नेपाल सरकारलगायत सम्बद्ध सरोकारवालालाई दिने कार्यक्रम रहेको कार्यक्रम संयोजक विष्णु शीतलले बताउनुभएको छ ।