अमेरिकी विदेशमन्त्री पोम्पेओ सात देशको भ्रमणमा जाने

0
Shares

काठमाडाैँ ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ विभिन्न सात देशको भ्रमणमा जानुहुने भएको समाचारमा जनाइएको छ । उहाँ शनिबार नै युरोप र मध्यपूर्वका केही देशको भ्रमणमा निस्किन लाग्नुभएको बताइएको हो । उहाँ यस भ्रमणका क्रममा वेस्ट ब्यांकमा पनि जानुहुने भएको जानकारी दिइएको छ ।

अमेरिकामा हालै सम्पन्न राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प पराजित हुनुभएको छ । वर्तमान राष्ट्रपति ट्रम्प पराजित भएर आगामी कार्यकालका लागि जो बाइडेन विजयी भएपछि अमेरिकी विदेशमन्त्री पहिलो पटक विदेश भ्रमणमा जान लाग्नुभएको हो ।

अमेरिकाका राष्ट्रपतिले हालै सम्पन्न निर्वाचनको परिणाम अस्वीकार गरेर देशमा अन्योल छाएको बेलामा ट्रम्प प्रशासनका विदेशमन्त्री भने लामो विदेश भ्रमणमा निस्किन लाग्नुभएको भन्दै अमेरिकी सञ्चारमाध्यमहरुले टिप्पणी गरेका छन् ।

उहाँ फ्रान्स, टर्की, जर्जिया, इजरायल, संयुक्त अरब इमिरेट्स, कतार र साउदी अरेबिया जानुहुने अमेरिकी टेलिभिजन संस्था सिएनएनले जनाएको छ । उहाँको यो विदेश भ्रमणलाई अमेरिकामा हालै सम्पन्न राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प पराजित भएपछि गरिने एक महत्वपूर्ण भ्रमणका रुपमा पनि लिइएको छ ।

वर्तमान राष्ट्रपति ट्रम्प पराजित भएर आगामी कार्यकालका लागि जो बाइडेन विजयी हुनुभएको छ । त्यसपछि पनि निर्वाचनमा धाँधली भएकोले आफूले परिणाम स्वीकार नगर्ने चेतावानी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिनुभएको छ ।

तर पनि अमेरिकी विदेशमन्त्री पोम्पेओले भने हालै आयोजित एक कार्यक्रममा अमेरिकाको संक्रमणकालको यो व्यवस्थापन सजिलोसँग र सहज रुपमा हुने जानकारी दिनुभएको थियो ।