तिहारलगत्तै भेन्टिलेटर र आईसीयू सञ्चालनको तयारी

0
Shares

दुर्गाप्रसाद शर्मा, पर्वत
समुदायस्तरमा संक्रमण फैलिँदै गएको पर्वतमा तिहारपछि लक्षणसहितका कोरोना संक्रमित बढ्ने अनुमान गर्दै जिल्लामै भेन्टिलेटरसहितको आईसीयू सञ्चालन गरिने भएको छ ।
लक्षणसहितका संक्रमित बढ्न थालेपछि तिहारपछि पर्वत अस्पतालमा तीनवटा भेन्टिलेटरसहित ५ बेडको आईसीयू सञ्चालन गर्न लागिएको हो ।
पर्वत अस्पतालमा गण्डकी प्रदेश सरकारको सहयोगमा तीनवटा भेन्टिलेटर र ५ वटा आईसीयू बेड तयार भएका छन् । तिहारलगत्तै यी बेड सञ्चालनमा आउने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द गिरी पहाडीले बताउनुभयो । पर्वत जिल्ला अस्पतालमा आईसीयू, भेन्टिलेटर तथा अक्सिजन प्लान्ट स्थापना भएपछि पोखरा, काठमाडौं बिरामी पठाउनुपर्ने अवस्थाको अन्त्य गर्न अस्पताल सफल हुने उहाँको भनाइ छ । ‘अहिले तीनवटा भेन्टिलेटर भए पनि लायन्सको सहयोगमा थप २ वटा जडान गरी ५–५ बेडका भेन्टिलेटर र आईसीयू बेड सञ्चालनमा आउनेछन्’, उहाँले भन्नुभयो– ‘कोरोनाको जटिल प्रकृतिका बिरामीको उपचारसमेत पर्वतमा नै गर्न सक्ने गरी क्षमता विकास भएको छ ।’
अहिलेजस्तै संक्रमितको संख्या बढ्दै जाँदा तिहारपछि लक्षणसहितका जटिल प्रकृतिका बिरामीहरुको संख्या पनि बढ्ने पर्वत अस्पतालका निमित्त प्रमुख डा. शिशिर देवकोटाले बताउनुभयो । ‘तिहारपछि लक्षणसहितका संक्रमित बढेर जाने अवस्था छ’, उहाँले भन्नुभयो– ‘त्यसका लागि आवश्यक तयारीमा हामी लागेका छौं ।’
पर्वतमा अहिलेसम्म संक्रमितको संख्या २ सय ३ पुगेको छ । त्यसमध्ये ५ जना मात्र गुप्तेश्वर क्याम्पसमा बनेको अस्थायी कोरोना अस्पतालको आइसोलेसनमा रहेका छन् भने ३८ जना होम आइसोलेसनमा छन् । पोखरामा गम्भीर प्रकृतिका संक्रमितले बेड पाउने अवस्था नभएकाले यस्तो अवस्थामा जिल्लामा नै यसको तयारी गरिएको उहाँको भनाइ छ ।
जिल्ला अस्पतालमा भेन्टिलेटर र आईसीयूसहितको आइसोलेसन, अस्थायी कोरोना अस्पताल र पालिकाहरुमा बन्ने आइसोलेसनमा पनि कम्तीमा अक्सिजन दिन सक्ने व्यवस्थासहितका आइसोलेसन तयारी अवस्थामा राख्नुपर्ने भएको छ । स्वास्थ्य कार्यालय पर्वतका प्रमुख डा. भोजराज गौतमले स्थानीय तहहरुले एम्बुलेन्स र सडकको अवस्था सुधार गरी जुनसुकै बेला पनि बिरामी ल्याउन सक्ने वातावरण बनाउनुपर्ने बताउनुभयो । उहाँले सबै पालिकालाई ५ बेडको आइसोलेन बनाउन सरकारले दिएको रकम तीन महिनामा खर्च नगरे फ्रिज जाने भएकाले जनशक्ति व्यस्थापन र पूर्वाधार निर्माण लाग्न आग्रह गर्नुभयो ।
जनशक्ति पाउन नसकेको अवस्थामा सरकारी र निजी अस्पतालमा काम गरिरहेका चिकित्सकलाई सेवा करारमा लिएर भए पनि काम शुरु गर्नुपर्ने उहाँको सुझाव छ । अहिलेसम्म स्वाब संकलनका लागि पालिकाहरुले राम्रो अभ्यास गरेको तर जलजलामा एक घर एक पीसीआर परीक्षणको अभियान चलाउने भनिए पनि प्राविधिक र खर्चका हिसाबले पनि सम्भव नभएको उहाँको भनाइ छ ।