पहाडमा उत्पादन, नेपालगन्जमा कारोबार

0
Shares

नेपाल समाचारपत्र, बाँके

कर्णाली प्रदेशका पहाडी जिल्लामा उत्पादन हुने लागू औषधी अफिम र चरेशको कारोबार नेपालगन्जमा हुने गरेको पाइएको छ ।

बाँके प्रहरीले केही दिनयता ठूलो मात्रामा अफिम बरामद गरेको छ । लागूऔषधीसहित पक्राउ पर्ने व्यक्ति अधिकांश पहाडी जिल्लाका छन् भने माल पनि उतैबाट आउने गरेको बयान दिइरहेका छन् ।
लागूऔषध नियन्त्रण ब्युरोको टोलीले बिहीबार बाँकेको खजुराबाट १० किलो ४ सय ग्राम अफिमसहित एकजनालाई नियन्त्रणमा लिएको छ । जाजरकोटका तिलकबहादुर शाही अफिम बेच्न बाँके आइपुगेका थिए । उनको ग्राहक प्रहरी नै प¥यो । उनी फन्दामा परे ।

बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले शुक्रबार अफिमसहित शाहीलाई सार्वजनिक गर्नुभयो । एसपी रानाका अनुसार पहाडी जिल्लाको माथिल्लो भेगमा उत्पादन हुने लागूऔषध अफिम र चरेश नेपालगन्ज आइपुग्छन् । भारत प्रवेश गराउने लक्ष्यसहित नेपालगन्जसम्म अफिम र चरेश ल्याइपु¥याउँछन् । धेरै कारोबारी यही पक्राउ पर्छन् ।

गत शनिबार कुसुमबाट तीन किलो अफिमसहित रुकुम पश्चिमका चन्द्रप्रकाश वली पक्राउ परे । खैरो कलरको झोलाभित्र कालो प्लास्टिकले लपेटेर अफिम ल्याइएको थियो । ब्युरोको टोलीले वलीलाई नियन्त्रणमा लियो ।

पहाडी जिल्लाको माथिल्लो भेगमा उत्पादन हुने अफिम र चरेश बोकेर आउनेहरु बाँकेमा धमाधम पक्राउ पर्न थालेका छन् । प्रहरीले पक्राउ गरेका व्यक्तिहरु भरिया रहेको बुझिएको छ । प्रहरीले मुख्य व्यक्तिलाई पक्राउ गर्न सकेको छैन ।

पहाडमा उत्पादन हुने अफिम र चरेश भारततिर जाने र भारतबाट ब्राउनसुगरका रुपमा नेपाल आउने गर्दछ । नेपालबाट भारत जाने र भारतबाट नेपाल आउने लागूऔषधी कारोबारीको केन्द्रविन्दु नेपालगन्ज हुने गरेको छ । अफिम र चरेश होस् वा ब्राउनसुगर नेपालगन्ज भएर नै देशका अन्य भागमा कारोबार भइरहेको पाइन्छ ।

ब्राउनसुगर बोकेर आउँदा बाँकेमा पक्राउ परेका चार दर्जन बढी भारतीय अहिले नेपालगन्ज कारागारमा रहेका छन् । पहाडबाट अफिम र चरेश बोकेर बाँके आइपुग्दा पक्राउ परेका व्यक्तिको सूची पनि लामै रहेको छ । नेपालगन्ज कारागारमा सबैभन्दा धेरै लागूऔषधीका बन्दी धेरै हुनुले पनि बाँके पहाडबाट आउने चरेश र अफिम तथा भारतबाट आउने ब्राउनसुगरको केन्द्रविन्दु रहेको देखाएको छ ।

तीन दिनअघि १८ ग्राम ब्राउनसुगर बोकेर नेपालगन्ज आइपुगेका भारतका राकेशकुमार सोनी र जुगेन्द्रर सोनी पक्राउ परे । २८ वर्षका राकेश र १९ वर्षका जुगेन्द्रर ब्राउनसुगर बुझाएर पैसा लिएर फर्किने तयारीमा थिए । समय उनीहरुले सोचेजस्तो भएन ।

भारतबाट ब्राउनसुगर बोकेर आउँदा यहाँ समातिएर नेपालगन्ज कारागारमा पुगेजसरी पहाडी जिल्लामा उत्पादन हुने चरेश र अफिम बोकेर भारतमा पुगेर पक्राउ परेका नेपालीको सूची पनि लामै रहेको छ । चरेश र अफिमसहित पक्राउ परेर भारतको बहराइच जेलमा पुगेका पहाडी जिल्लाका कतिपय महिलाहरु सामान्य धरौटी बुझाउन नसकेर जेलमा बसेको पाइएको छ । बहराइच जेलमा यस्ता एक दर्जन नेपाली महिला रहेका छन् ।