कोरोनासँग बच्दा घटे डेंगुका बिरामी

0
Shares

नेपाल समाचारपत्र, हेटौंडा

विश्व नै हल्लाएको कोरोनाबाट बच्न हाल आममानिसले अपनाएको व्यक्तिगत स्वास्थ्य सुरक्षा सावधानीका विधिले अर्को खतरनाक रोगबाट मुक्ति दिलाएको छ ।

मकवानपुरमा चालू आर्थिक वर्षको हालसम्म १३ जना मात्र डेंगुका बिरामी फेला परेपछि कोरोना संक्रमणको त्रासका कारण अपनाइएको स्वास्थ्य सुरक्षा विधि डेंगुबाट बच्न पनि हितकारी देखिएको हो । मकवानपुरमा अघिल्लो वर्ष करिब ४ हजारमा देखिएको डेंगु यस वर्ष एकदम न्यून देखापरेको छ ।

अघिल्लो आर्थिक वर्ष ३ हजार ३८ मानिसमा संक्रमण भएको डेंगु यस वर्ष कमलाई देखिनु सुखद रहेको सरोकारवाला बताउँछन् । जिल्लाका सरकारी, निजी अस्पताल तथा निजी क्लिनिकमा १३ जना डेंगुका बिरामी फेला परेका हुन् । विशेष गरी साउनदेखि कात्तिक आधाआधीसम्म फेला पर्ने यो रोग मकवानपुरमा यस वर्ष १३ जनामा मात्र देखापरेको जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिनुभयो ।

कोरोना भाइरससँग बच्न अपनाइएको सुरक्षाका सावधानीको प्रभावका कारण पनि यस वर्ष डेंगुका बिरामी कम भएको उहाँले बताउनुभयो । कोरोनासँग बच्न घर, आँगनदेखि हरेक अवस्थामा सुरक्षाका सावधानी अपनाइएको छ ।

फोहोर व्यवस्थापन तथा पानी जम्ने खाल्डाखुल्डी व्यवस्थापन गर्दा डेंगुका बिरामी कम देखिएको सूचना अधिकारी केसीको भनाइ छ । उहाँले भन्नुभयो– ‘फोहोर भयो भने मानिसलाई विभिन्न प्रकारका रोग लाग्ने गर्दछ । कोरोनासँग बच्न मानिसहरु सफा गर्नेतिर केन्द्रित भएका छन् ।

डेंगु संक्रमण भयो भने अस्पतालमा उपचार गराउन पनि समस्या हुने मानसिमा छ । अस्पताल जाँदा कोरोना संक्रमण होला भन्ने मानसिकताका कारण पनि मानिसहरु घरमै बसेर सावधानीका उपाय अपनाएको पाइएको छ । ‘सबै सचेत भएकै कारण डेंगुका बिरामी कम भेटिएका हुन्।’ –सूचना अधिकारी केसी बताउनुहुन्छ ।

चालू आर्थिक वर्षको साउनमा १ महिला र २ पुरुषमा डेंगु फेला परेको थियो । भदौमा १ महिला र ३ पुरुष, असोजमा २ महिला र ४ पुरुषमा डेंगु संक्रमण भएको जनस्वास्थ्य कार्यालयको तथ्यांक छ ।
डेंगु लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । यो एक प्रकारको ज्वरो हो । यो एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । यो लामखुट्टे ग्रामीण क्षेत्रको तुलमा शहरी क्षेत्रमा बढी पाइन्छ ।

पानीका ससाना पोखरीमा यसले फुल पार्छ । खास गरी वर्षाको पानी जम्ने टिनका डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टीतेलका खाली ड्रम, फूलदानी, गमला, पानीटं्याकी आदिमा यसले फुल पार्दछ । शहरी क्षेत्रमा यस्ता वस्तु पर्याप्त हुने भएकाले यस प्रकारको लामखुट्टे शहरमा बढी हुने गर्छ ।

यो लामखुट्टेले विशेष गरी दिउँसो टोक्ने गर्दछ । डेंगु सार्ने लामखुट्टेले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फुल पार्छ । डेंगुको उचित प्रकारले उपचार नगरे मानिसको मृत्यु हुनसक्छ ।

डेंगु ज्वरोको मुख्य लक्षण एक्कासि उच्च ज्वरो आउनु हो । यो ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ । ज्वरोका साथै असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसपेशी दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेका दाग देखापर्ने, बेहोस हुने आदि लक्षण पनि देखा पर्न सक्छ ।