म्याग्दीका तीन स्थानीय तहद्वारा लकडाउन

0
Shares

म्याग्दी, (नेस)

कोभिड–१९ संक्रमणको जोखिम बढेपछि म्याग्दीका तीन स्थानीय तहले लकडाउन गरेका छन् । कोभिड–१९ को संक्रमण समुदायस्तरमा समेत पुगेको भन्दै स्थानीय तहले अत्यावश्यक सेवाबाहेक अन्य सबै सेवाहरु पूर्णरुपमा बन्द गरेका हुन् ।

म्याग्दीको बेनी नगरपालिकाले आउँदो २८ गतेसम्म, मंगला गाउँपालिकाले मंसिर १ गतेसम्म र मालिकाले अर्को सूचना जारी नभएसम्म अत्यावश्यकबाहेकका सम्पूर्ण सेवासुविधाहरु सञ्चालनमा रोक लगाएका छन् । यसैगरी रघुगंगा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित जलविद्युत् आयोजनामा काम गर्न आउने मजदुरलाई रोक लगाउने, पर्यटकीय क्षेत्र भ्रमण गर्न नदिने र अन्नपूर्ण गाउँपालिकाले पनि पर्यटकीय क्षेत्र भ्रमणमा रोक लगाएको छ ।

सदरमुकाम बेनीबजारसहित बेनी नगरपालिकाले अत्यावश्यकबाहेक बेनीमा सञ्चालित सबै पसल व्यवसाय, बैंक तथा वित्तीय संघसंस्था र सहकारीको कारोबार बन्द गरेको छ । बेनी नगरपालिकाले संक्रमणको जोखिम उच्च रहेको भन्दै जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) म्याग्दीलाई सिफारिस गरेपछि डीसीसीएमसीको बैठकले बेनीबजार र नगरपालिका क्षेत्रमा अत्यावश्यकबाहेक अन्य सेवा बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिनुभयो ।

बेनी नगरपालिका क्षेत्रमा यसअघि गएको कात्तिक १४ देखि २१ गते शुक्रबार राती १२ बजेसम्मका लागि अत्यावश्यकबाहेकका सेवाहरु बन्द गरिएकोमा पुनः बन्दको समयावधि थपिएको हो । डीसीसीएमसीको शुक्रबार सम्पन्न बैठकले आगामी कात्तिक २८ गते राती १२ बजेसम्म बेनीबजार क्षेत्र बन्द गर्ने निर्णय गरेको जनाएको छ । पछिल्लो समय म्याग्दीको बेनीमा कोरोना भाइरस संक्रमणको जोखिम बढेकाले त्यसलाई कम गर्न बेनी नगरपालिकाको आग्रहमा डीसीसीएमसीको बैठकमा एक हप्ता बन्दको अवधि थप गरिएको सहायक प्रमुख जिल्ला अधिकारी माया कुँवरद्वारा हस्ताक्षरित जरुरी सूचनामा जनाइएको छ ।

सूचनाअनुसार पछिल्लो समय स्वाब संकलन गरिएका नमुनामध्ये २३ प्रतिशतमा कोरोना देखिएकाले थप एक हप्तासम्म बन्द गर्न उचित देखिएका हुँदा बन्दलाई २८ गतेसम्म निरन्तरता दिने निर्णय भएको हो । बन्दको पछिल्लो ७ दिनमा कोभिड–१९ संक्रमितको सम्पर्कमा रहेकाहरुको कन्ट्याक्ट टे«सिङ, नमुना संकलन तथा परीक्षण, जनचेतनामूलक अभियान सञ्चालन, होम क्वारेन्टाइन तथा आइसोलेसनको व्यवस्थापन र अनुगमन एवं जनस्वास्थ्य मापदण्डको पालनासम्बन्धी सूचना सञ्चारमाध्यमबाट प्रचारप्रसारलाई निरन्तरता दिइने भएको छ । जिल्लामा हाल कोभिड–१९ का सक्रिय संक्रमितहरु कुल ३६ जना रहेकाले उनीहरु सबै आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यसैबीच म्याग्दी होटल तथा रेस्टुरेन्ट व्यवसायी संघका अध्यक्ष ताराप्रसाद आचार्य (बाबुराम)ले बन्दलाई सदाका लागि बन्द गर्नुपर्ने भन्दै सामाजिक सञ्जालमार्फत विरोध जनाएका छन् । यता बेनीका व्यापारीहरुको भने तिहार पर्व नजिकै आएकाले पसल खोल्न पाउनुपर्ने माग छ ।