कोरोना कहरले घरेलु हिंसामा वृद्धि

0
Shares

वासुदेव शर्मा, जाजरकोट
जाजरकोटमा कोरोना भाइरसका कारण घरेलु हिंसा बढ्दै गएका छन् । महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण संक्रमित र मृत्यु हुने दर बढिरहेका बेला दुर्गम बस्तीहरूमा घरेलु हिंसाका घटना बढ्दै गएका हुुन् ।
नलगाड नगरपालिकाका उपप्रमुख बालकुमारी बस्नेतले कोरोनाका कारण देशमा लकडाउन भएपछि घरेलु हिंसाका घटना बढ्दै गएको बताउनुुएको छ । कानुनतर्फको दक्ष जनशक्ति नभएका कारण मुद्दा छिनोफानो गर्न समस्या भएको उहाँको भनाइ छ ।
पालिकाहरुबाटै न्यायिक सेवा दिने नेपाल सरकारले व्यवस्था गरेपछि लुटपाट, कुटपिट, चरिचर, पानीघाट, घरेलु हिंसालगायतका मुद्दाको छिनोफानो गर्ने अधिकार स्थानीय न्यायिक समितिलाई दिएकाले नजिकैको न्यायालयमा उजुरी बढ्दै गएको उपप्रमुख बस्नेतले बताउनुभयो । उहाँका अनुसार नगर प्रहरी र न्याय सेवाका लागी कर्मचारीको व्यवस्था नहुँदा काम गर्न समस्या भएको छ । कानुनी सल्लाहकारका लागि बजेट व्यवस्था गरेका छौं त्यस्तो व्यक्ति नहुँदा समस्या भएको हो । झगडाका बादी उपस्थित हुन्छन् तर प्रतिवादी उपस्थित नहुँदा मुद्दा छिनोफानोमा समस्या भएको नगर उपप्रमुख बस्नेतले भन्नुभयो ।
२०७७ सालमा न्यायिक समितिमा दर्ता भएका लेनदेन विवाद ११, घरेलु हिसा ८, जग्गा खिचलो ४, बाटो रोक्का १ विद्युत्लाइन जडान १ वटा मुद्दा दर्ता भएका थिए । लेनदेन विवाद ४, घरेलु हिंसा ३, जग्गा खिचलो २ वटा मुद्दा मिलापत्र भएका छन् । लेनदेन विवाद ७ वटा, घरेलु हिंसा ५, जग्गा खिचलो २, बाटो रोक्का १, विद्युत्लाइन जडानको १ वटा मुद्दा छिनोफानो गर्न बाँकी रहेको नलगाड नगरपालिका न्यायिक समितिका तामेलदार सुमन गौतमले जानकारी दिनुभयो । बाँकी रहेको मुद्दा छिटै छिनो फानो गर्ने तामेलदार गौतमले बताउनुभयो ।