सन्त्रासकै बीच शुुरू भयो कक्षा ११ को परीक्षा

0
Shares

राम धामी, डडेल्धुरा
कोरोना महामारीको सन्त्रासका बीच स्वास्थ्य सुरक्षाका मापदण्ड अवलम्बन गरेर डडेल्धुरा जिल्लाका माध्यामिक विद्यालयहरुमा कक्षा ११ को परीक्षा लिइन थालिएको छ । वार्षिक परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि–२०७७ अनुसार डडेल्धुराका विद्यालयहरुले कक्षा ११ को परीक्षा शुरू गरेको हो ।
महामारीको सन्त्राससँगै कक्षा ११ को परीक्षा दिन विद्यालयमा पुगेका विद्यार्थीलाई स्वास्थ्य तथा सुरक्षाका सबै प्रक्रिया पूरा गरेर परीक्षा हलमा प्रवेश गराइएको छ । १७ वटा माध्यामिक विद्यालयले कक्षा ११ को परीक्षा सञ्चालन गर्न राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालय डडेल्धुरालाई बुझाएको तालिका अनुसार बिहीबारदेखि मर्यादित किसिमले परीक्षा सञ्चालन भइरहेको कार्यालय प्रमुख नारदप्रसाद जोशीले बताउनुुभयो । कक्षा ११ को परीक्षा सञ्चालन कार्यविधि–२०७७ अनुसार विद्यालयहरूले आफूलाई पायक पर्ने समयमा परीक्षा सञ्चालन गरिरहेको जोशीले जानकारी दिनुुभयो ।
कार्यविधिअनुसार परीक्षा तालिका सार्वजनिक गरेर डडेल्धुराका अधिकांश विद्यालयले परीक्षा सञ्चालन गरेका हुन् । डडेल्धुराका ३३ माध्यामिक विद्यालयमध्ये अजयमेरु गाउँपालिकामा रहेका बालकल्याण माध्यामिक विद्यालय र भद्रपुर माध्यमिक विद्यालयले कात्तिक १७ गतेबाट परीक्षा सञ्चालन गरेका थिए भने जिल्लाभरका थप १७ माध्यामिक विद्यालयले बिहीबारदेखि परीक्षा सञ्चालन गर्न तालिका सार्वजनिक गरेका थिए ।


जिल्लाका अधिकांश विद्यालयले कातिक २० गतेबाट परीक्षा सञ्चालन गर्ने तालिका सार्वजनिक गरेका थिए । लामो सयमसम्म कोरोनाका कारण विद्यालयमा पठनपाठन गर्न नपाएका विद्यार्थी एकाएक परीक्षा हलमा उपस्थित हुँदा विद्यार्थीहरुको कमजोर मनस्थिति देखिएको परीक्षा सञ्चालन गरिरहेको डडेल्धुराको सिमान्त परशुराम नगरपालिका–५ परिगाँउस्थित भुवनेश्वरी माध्यामिक विद्यालयका प्रधानाध्यापक डम्बरसिंह थ्वालको धारणा छ । उहाँले स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूूरा गरेर परीक्षा सञ्चालन भइरहेको प्रस्ट्यानुुभयो ।
महामारीका कारण कोर्ष नै पूरा नभई बिनातयारी परीक्षा दिइरहेका विद्यार्थीको नतिजाका बारेमा अभिभावकहरु चिन्तित देखिन्छन् । साधारणतर्फका विद्यार्थीभन्दा प्राविधिक धारतर्फको परीक्षा दिने विद्यार्थीहरुलाई बढी समस्या देखिएको परीक्षार्थीहरुको गुनासो छ । सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाहरु बाजुराका २२ वटा मावि, बझाङका ४८ मावि, अछामका ३८ मावि, डोटीका ३५ मावि डडेल्धुरा ३३ वटा मावि बैतडीका ६३ मावि र दार्चुलाका २७ गरी कुल २ सय ६६ वटा माध्यामिक विद्यालयमध्ये आधाभन्दा बढी विद्यालयले बिहीबारदेखि परीक्षा सञ्चालनका लागि कार्यतालिका सार्वजनिक गरेको राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालय डडेल्धुरालाई जानकारी गराएको सो कार्यालयले जनाएको छ ।