संक्रमण बढेपछि चार पालिकामा लकडाउन

0
Shares

दुर्गाप्रसाद शर्मा, पर्वत
कोभिड–१९ को संक्रमण समुदायस्तरमा फैलिएपछि पर्वतका चार स्थानीय तहमा लकडाउन घोषणा गरिएको छ । पर्वतको कुश्मा नगरपालिकासहित जलजला, मोदी र महाशीला गाउँपालिकामा लकडाउन घोषणा गरिएको हो ।
लकडाउन घोषणा गरिएका पालिकाहरुमा अत्यावश्यक बाहेकका पसल तथा पालिकाबाट दिइने सेवाहरु बन्द भएका छन् । दशैंपछि समुदायमा संक्रमण बढेपछि त्यसलाई रोक्न र संक्रमितको सम्पर्कमा धेरै व्यक्ति पुग्न नसकून् भनेर लकडाउन गरिएको पालिकाहरुले जनाएका छन् ।
कुश्मा नगरपालिकामा कात्तिक १५ गतेदेखि नै लकडाउन जारी रहेको छ भने मोदी गाउँपालिमा सोमबार रातीदेखि लकडाउन जारी रहेको छ । त्यसै गरी पर्वतको जलजला गाउँपालिकामा मंगलबार रातीदेखि लागू हुने गरी कात्तिक २५ गतेसम्म लकडाउन जारी रहेको छ । उता महाशीला गाउँपालिकाले पनि अर्को निर्णय नहुने बेलासम्म गाउँपालिकाले तोकेका अत्यावश्यक ठाउँमा बाहेक अन्यत्र हिँडडुल, सवारी साधन सञ्चालन, वित्तीय संस्था तथा सहकारी संस्था र शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ ।
कुुश्मा नगरपालिकाले सदरमुकाम कुश्माबजारभित्रका वडा नं. ४, ५, ६ र ७ मा कात्तिक १५ गते रातीदेखि लकडाउन घोषणा गरेको छ, जसले गर्दा बजारका वित्तीय संस्था, बैंक, सहकारी, शैक्षिक संस्था र उद्योग व्यावसाय ठप्प बनेका छन् । सरकारी कार्यालय खुले पनि सेवाग्राहीको संख्या न्यून रहेको छ । सवारी साधनहरु भने बन्द गरिएको छैन । एकैदिन समुदायका ९ जनामा संक्रमण देखिएपछि कुश्माबजार लकडाउन गर्ने निर्णय भएको नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिनुभयो ।
यता जलजलाको मंगलबार सम्पन्न गाउँपालिकास्तरीय संकट व्यवस्थापन समितिको बैठकले पालिकाका वडाहरुमा संक्रमण फैलन नदिनका लागि बुधबारदेखि लागू हुने गरी कात्तिक २५ गतेसम्म लकडाउन घोषणा गरिएको छ । पछिल्लो समय छिमेकी जिल्ला र पालिकाहरुमा लकडाउन घोषणा भएपछि जलजला गाउँपालिकामा पनि थप संक्रमण नफैलियोस् भनेर लक डाउन गर्ने निर्णय भएको जलजला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो ।
यसै गरी मोदी गाउँपालिकामा पनि र कात्तिक १७ गते (सोमबार) रातीदेखि गाउँपालिकाको कार्यालय तथा सबै वडा कार्यालयहरुको अत्यावश्यक सेवाबाहेकको सेवा, शैक्षिक संघसंस्थाबाट प्रदान गरिने सेवाहरु, गाउँपालिकास्थित बैंक, वित्तीय संस्था एवं सहकारीबाट प्रदान गरिने सेवाहरु कात्तिक २२ गते राती १२ बजेसम्म बन्द गरिएको छ ।
जिल्लाको फलेवास नगरपालिका, विहादी र पैंयु गाउँपालिकामा भने कुनै बन्द तथा सेवा अवरुद्ध गरिएको छैन । छिमेकी जिल्ला म्याग्दीको बेनी नगरपालिका र बागलुङ नगरपालिका पनि उच्च जोखिममा परेपछि एक साताका लागि लक डाउन गरिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय पर्वतका अनुसार पर्वतमा हालसम्म संक्रमितको संख्या १ सय ७७ जना पुगेका छन् भने १ सय ४३ जना निको भइसकेका छन् । २३ जना सक्रिय संक्रमितमध्ये ५ जनाको आइशोलेसनमा उपचार भइरहेको छ भने १८ जना होम आइसोलेसनमा रहेका छन् ।