म राजीनामा दिनेवाला छैन

0
Shares

काठमाडौं, (नेस)

प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई बर्बादीमा पारेर आफूले राजीनामा नदिने बताउनुभएको छ । उहाँले आफूले राजीनामा दिए देश बर्बादीतिर जाने बताउनुभएको हो ।

बुधबार चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कुनै पनि परिस्थितिमा आफूले राजीनामा नदिने प्रस्ट पार्नुभयो । उहाँले भन्नुभयो– ‘तपाईंहरु विचार गर्नुस् के अहिले मैले राजीनामा दिन हुन्छ? राजीनामा दिन मिल्छ? मेरा लागि होइन देशका लागि मैले राजीनामा दिनु भनेको देशलाई बर्बादितिर जान दिनु हो । त्यसकारण म राजीनामा दिनेवाला छैन ।’

प्रधानमन्त्री ओलीले आफ्नो रहरले भन्दा पनि जनताको आवश्यकता र समर्थनले प्रधानमन्त्री बनेको बताउँदै कुनै पनि जालझेल तथा तिकडमबाट नभई व्यापक जनसमर्थनबाट प्रधानमन्त्री बनेकाले सरकार फेरिन्छ कि भन्ने दुविधामा नपर्न आग्रह गर्नुभयो ।

‘यो सरकार फेरिन्छ कि बदलिन्छ कि भनेर धेरैले धेरैपल्ट धेरै प्रकारका कोसिसहरु गरे । भित्र, बाहिर अनेकथरीका कोसिसहरु आए, जेमा पनि आलोचना गर्ने । त्यस प्रकारका प्रवृत्तिहरु छन् त्यसबाट प्रभावित नहोऔं।’ –उहाँले भन्नुभयो । उहाँले एकथरी व्यक्तिहरु देशमा अस्थिरता निम्त्याउन लागिरहेको आरोपसमेत लगाउनुभयो ।