पर्यटकको प्रतीक्षामा व्यवसायी

0
Shares

कृष्णउदास खनाल, हेटौंडा
कोरोना समस्या समाधान भएपछि पर्यटक आउने आशामा मकवानपुरका पर्यटन व्यवसायी प्रतीक्षामा छन् । करिब सात महिनासम्म बन्द रहेको पर्यटक क्षेत्रमा अहिले केही चहलपल बढ्न थाए पनि संक्रमणको जोखिम बढ्दा व्यवसायीहरू चिन्तित छन् ।
कोरोनाबाट जोगिन मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाका स्थानीय बासिन्दाले ६ महिनादेखि माछा बिक्री गरेनन् । मत्स्य पालन, होटल व्यवासाय र डुंगा सञ्चालनबाट हुने आम्दानीले दैनिक गुजारा गर्दै आएकालाई यस वर्षको चाडपर्व मनाउन आर्थिक समस्या परेको छ । काठमाडौंबाट ४६ किलोमिटरको दूरीमा पर्ने कुलेखानी जलविद्युत् आयोजनाको इन्द्रसरोवर मानव निर्मित नेपालकै पहिलो ताल हो । यही तालमा इन्द्रसरोवर गाउँपालिकाका किसानले सामूहिक रुपमा माछा पालान गर्दै आएका छन् ।
माछा पारखीका लागि रोजाईको गन्तव्य रहेको मार्खुको इन्द्रसरोवरमा जलविहारको लागि समेत पर्यटकको घुइँचो लाग्ने गर्दथ्यो । भदौदेखि मंसिरसम्म भरिभराउ रहने यो तालमा यसपटक कोरोनाले गर्दा जलविहार रोकिएको छ ।
डुंगा व्यवसायी कृष्ण मोक्तानले आफू जस्ता व्यवसायीलाई यो अवधिभर धेरै मार परेको गुनासो गर्नुभयो । लकडाउन अवधिभर व्यवसायमा ३० देखि ४० लाखसम्म घाटा लागेको मोक्तानको अनु्मान छ । दशैंको समयमा धेरै पर्यटक आउथे । तर, यसपटक भने २५ प्रतिशत पनि नआएको बताउनुभयो । कोरोनाका कारण पर्यटक नआउँदा किसानका माछा ६ महिनादेखि बिक्री भएका छैनन् । काठमाडौंबाट माछा लिन व्यवसायी आउँदा भाइरसको संक्रमण फैलने डरले किसानले माछा बिक्रीसमेत गरेनन् । भिरालो जमिनमा खेतीपाती लगाउँदा, ताल छेउको जमिनमा होटल व्यवसाय सञ्चालन गरेर जीविकोपार्जन गरेका होटल व्यवसायीलाई चाडवाडको बेला आर्थिक अभाव भयो । होटल व्यवसायी, कृष्णबहादुर श्रेष्ठले लकडाउन अवधिभर होटलको काम ठप्प हुँदा आम्दानी हुने बाटो बन्द भएको गुनासो गर्नुभयो ।