अर्बपति ‘ज्याक मा’लाई चीन सरकारको चेतावनी


बेइजिङ, (एजेन्सी)

केही दिनमै विश्व बजारमा आफ्नो व्यापार व्यवसाय शुरू गर्न लागेको विशाल प्राविधिक कम्पनी एन्ट ग्रुप कर्पोरेसनका वरिष्ठ कार्यकारी अधिकारी र उक्त कम्पनीका सह–संस्थापक अर्बपति व्यापारी ‘ज्याक मा’लाई चीन सरकारले नयाँ प्रतिबन्ध खेप्नुपर्ने चेतावनी दिएको छ।

विश्वकै सबैभन्दा ठूलो इनिसियल पब्लिक अफरिङ (आईपीओ) शेयर निष्कासन गरेर ३४ अर्ब ५० करोड अमेरिकी डलर संकलन गरिसकेको एन्ट ग्रुपको नियामक जोखिम बढ्दै गएको भन्दै चीन सरकारले यो चेतावनी दिएको बताइएको छ।

सोमबार र अन्य तीनवटा आर्थिक नियामकलाई चीनको केन्द्रीय बैंकले एक अत्यन्तै दुर्लभ संयुक्त बैठकमा भाग लिन बोलाएको थियो। तर, दुवै पक्षले हालसम्म बैठकमा भएको कुनै पनि छलफलका विषयलाई सार्वजनिक गरेको छैन।

एन्ट समूहका लगानीकर्ताले पहिलेदेखि नै आर्थिक मामिलामा चिनियाँ नियामक निकायले हस्तक्षेप गर्न सक्ने थाहा भएको बताइएको छ। एन्ट ग्रुपको बिहीबारदेखि व्यवसाय शुरू गर्ने पूर्वनिर्धारित कार्यक्रम रहेको थियो।