फरार आतंककारीको खोजी, तीनको हत्या


भियना, (एजेन्सी)
अस्ट्रियाको राजधानी भियनामा भएको थुप्रै बन्दुक आक्रमणमा संलग्न रहेको आशंकामा प्रहरीले एक व्यक्तिको व्यापक खोजी गरेको छ। उक्त घटनामा तीनजनाको ज्यान गएको बताइएको छ। साथै, घाइते हुन पुगेका अन्य करिब १२ जनाको अवस्था चिन्ताजनक रहेको अस्पताल सूत्रले जनाएको छ। सोमबार साँझ अज्ञात बन्दुकधारीले विभिन्न ६ वटा स्थानमा अन्धाधुन्ध गोली चलाएको थियो।
मुठभेटको क्रममा एकजना बन्दुधारीको प्रहरीको गोली लागेर मृत्यु भएको बताइएको छ। आन्तरिक मामिला मन्त्री कार्ल निह्याम्मरले मारिएका आक्रमणकारी इस्लामिक आतंककारी भएको पुष्टि गरेका छन्। ती मारिएका आतंककारीको घरमा छापा मारेर विभिन्न शंकास्पद वस्तुलगायत भिडियो फेला पारेको तथा उनले नक्कली विस्फोटक पदार्थको बेल्ट बाँधेको पनि प्रहरीले जनाएको छ।
निह्याम्मरले थुप्रै खतरनाक गोलाबारुद बोकेका एक आशंका गरिएका आतंककारी अझै फरार रहेको बताएका छन्। उनले स्थानीय बासिन्दालाई मंगलबार भियनाको मध्यभागमा ननिस्कन र अभिभावकलाई आफ्ना बालबालिकालाई विद्यालयमा नपठाउन आह्वान गरेका छन्।
भियनाको मध्यभागस्थित यहुदीको सामूहिक प्रार्थनास्थल नजिक गोली चलेको बताइएको छ। अस्ट्रियाका चान्सलर सेवासियन कुर्जले यसलाई ‘अत्यन्तै घृणित आतंककारी हमला’ को संज्ञा दिए। सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि राष्ट्रव्यापी नयाँ बन्देज लगाउने घोषणा गरेको केही घण्टापछि नै उक्त आक्रमण भएको बताएका छन्।