नागमणिका नाममा दुई करोड ठगी

0
Shares

बाँके, (नेस)

दाङको घोराही उपमहानगरपालिका–१७ का माधवप्रसाद घिमिरेलाई ‘नागमणि’ दिने भन्दै झण्डै दुई करोड रुपियाँ ठगी गरिएको छ ।

घोराहीबाट डिलिङ हुँदै नेपालगन्जको न्युरोडस्थित एक होटलमा केही दिन बसेका दैलेख नौमुलेका धनबहादुर रोका, सल्यान कुमाखका कृष्ण शाह र सल्यान शारदा नगरपालिकाका डिल्लीबहादुर बोहराले नागमणि दिने भन्दै घिमिरेबाट १ करोड ८९ लाख ५० हजार रुपियाँ ठगेका हुन् ।

उनीहरुले सानो बल्बजस्तो ‘झिमिक–झिमिक बल्ने’ वस्तुलाई नागमणि भन्दै देखाएका थिए । केही दिनदेखि होटलमा बसेका उनीहरुले पैसा बुझेको दिन राती पूजा गरेर नागमणि ‘हस्तान्तरण’ गर्ने सहमति गरेका थिए । तर, सोही रात उनीहरु होटलबाट पैसा लिएर भागेका थिए ।

तीन जनाले नागमणिको धार्मिक महŒव हुनुका साथै व्यापार व्यवसाय राम्रो हुने, घरमा लक्ष्मीको बास हुने, परिवारका सदस्यको आयु लामो हुने, घरपरिवारमा सुख शान्ति, समृद्धि हुने भन्दै घिमिरेलाई प्रलोभनमा पारेका थिए ।

राती पूजा गरेर नागमणि दिन्छु भन्नेहरु भागेपछि घटना प्रहरीकहाँ पुगेको थियो । बाँके प्रहरीको सक्रियतामा रोका, शाह र बोहरा नेपालगन्ज उपमहानगरपालिका–१ बाट पक्राउ परेका छन् । उनीहरुको साथबाट ४० लाख रुपियाँ बरामद भएको छ ।

बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले घटनामा भारतीय र अरु नेपाली पनि सामेल रहेको जानकारी दिनुभयो । ‘भारतीयसहित अरु नेपाली पनि ठगीमा सामेल छन्, उनीहरुको खोजी भइरहेको छ’, एसपी रानाले भन्नुभयो– ‘चाँडै पक्राउ पर्छन् ।’

बाँके प्रहरीले मंगलबार नै ठगी गर्ने तीन जना र बरामद भएको ४० लाख रुपियाँ पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा २४९ अनुसार यस्तो कार्य गर्नेलाई ७ वर्षसम्म कैद र ७० हजारसम्म जरिवानाको व्यवस्था गरिएको छ ।

यसैबीच, बाँके प्रहरीले मंगलबार नै कोहलपुरको बसपार्कमा रहेको एक होटलबाट दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित चार जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, बाँकेबाट खटिएको विशेष प्रहरी टोलीले बिहान नौ बजे होटलको कोठा नं. ४ मा रहेका सुर्खेतका गणेश नेपाली र लालबहादुर नेपाली, दैलेखका दिनेश कार्की र उमेशबहादुर थापालाई खानतलासी गर्दा रेडपाण्डाको छाला फेला परेको थियो ।

कोठामा रहेको निलो झोलामा दुई फिट दुई इन्च लम्बाइ भएको रेडपाण्डाको छाला बरामद भएको एसपी रानाले जानकारी दिनुभयो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (क) बमोजिम यस्तो कार्य गर्नेलाई १० लाखसम्म जरिवाना र ५ देखि १० वर्षसम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।