भारतीय स्थल सेनाध्यक्ष मनोज आज नेपाल आउँदै

0
Shares

नेपाल समाचारपत्र, काठमाडाैँ ।

नेपाल भारतबीच सम्बन्धमा चिसोपन आइरहेका बेला भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरावणे तीनदिने औपचारिक भ्रमणका क्रममा आज बुधबार नेपाल आउनुहुने भएको छ ।

भारतीय गुप्तचर निकाय रअका प्रमुख सामन्तकुमार गोयलको भ्रमणका बारेमा विभिन्न टीकाटिप्पणी भइरहेका बेला नरावणेको नेपालमा औपचारिक भ्रमण हुन लागेको हो ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नेपाल आउन लाग्नुभएका भारतीय स्थल सेनाध्यक्ष नरावणेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ ।

भारतमा नियुक्त हुने नयाँ स्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथी र नेपाली सेनाको नयाँ प्रधानसेनापतिमा नियुक्त भएपछि भारतीय स्थल सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्ने प्रचलन रहेको छ ।

नेपालप्रति कठोर नीति अपनाउने स्थल सेनाध्यक्ष नरावणेले शुरुमा नेपाल आउन आनाकानी गर्दै आउनुभएको थियो ।

कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर नेपालले नयाँ नक्सा जारी गरेपछि नरावणेले चीनको उक्साहटमा लागेर नेपालले नयाँ नक्सा जारी गरेको र उक्त भूमि भारतको नै भएको दाबी गर्नुभएको थियो ।

स्थल सेनाध्यक्ष नरावणेले बोलेको उक्त भनाइलाई लिएर नेपालमा तीव्र विरोधसमेत भएको थियो । स्थल सेनाध्यक्ष नरावणेले बोलेको आफ्नो भनाइ पुष्टि गर्न सक्नुभएको थिएन ।

आज बुधबार आफ्नै विशेष विमानबाट काठमाडौं आउन लाग्नुभएका स्थल सेनाध्यक्ष नरावणेको भोलि बिहीबार बिहानबाट यहाँको औपचारिक भ्रमणको कार्यक्रम शुरु हुने भएको छ । बिहीबार बिहान सैनिक मञ्चमा माल्र्यापण गर्ने कार्यक्रम रहेको छ । त्यसपछि नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गर्ने कार्यक्रम रहेको छ ।

त्यसपछि उहाँले प्रधानसेनापति थापासँग औपचारिक वार्ता गर्ने कार्यक्रम रहेको छ । त्यसपछि उहाँ सैनिक मुख्यालयमा आयोजना हुने कार्यक्रममा सहभागी हुने र भारतीय सेनाका तर्फबाट नेपाली सेनाका लागि एम्बुलेन्ससहितको मेडिकल उपकरण हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

सोही दिन अपराह्न राष्ट्रपति निवास शीतल निवासमा आयोजना हुने कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्ने कार्यक्रम रहेको सैनिक प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो ।

सोही दिन साँझ प्रधानसेनापति थापाले आयोजना गर्नुहुने रात्रिभोजमा स्थल सेनाध्यक्ष नरावणे सहभागी हुनुहुने भएको छ ।

भ्रमणको अन्तिम दिन शुक्रबार शिवपुरीस्थित स्टाफ कजेलमा उहाँले शिक्षार्थी अधिकृतहरुलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीसँग औपचारिक भेट गर्ने कार्यक्रम रहेको छ । उहाँ सोही दिन स्वदेश फर्कने कार्यक्रम रहेको छ ।