बलात्कारको आरोप लागेका प्रहरी जवान समातिए

0
Shares

नेपाल समाचारपत्र, डोटी

बालिका बलात्कारको आरोप लागेका २४ वर्षीय प्रहरी जवान सुशील सिंहलाई पक्राउ गरिएको छ । प्रहरी जवान सिंह सोही वडामा बस्ने १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बालिकाका आफन्तले मुद्दा दर्ता गरेपछि पक्राउ परेका हुन् ।

चौकीबाट एकाएक सम्पर्कविहीन भएका उनलाई सोमबार राति कैलाली जाँदै गरेकोे अवस्थामा सहजुरमा इलाका प्रहरी कार्यालय बुडरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय डोटीमा बुझाएको छ ।

बलात्कारको आरोप लगेका सिंहलाई आरोप प्रमाणित भए हदैसम्मको कानुनी कारबाही हुने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका निमित्त प्रदेश प्रहरी प्रमुख मुकेशकुमार सिंहले बताउनुभयो । उहाँले भन्नुभयो– ‘प्रहरी जवानले बालिका बलात्कार गरेको आरोपमा मुद्दा दर्ता भएपछि मैले पक्राउ गरी कारबाही गर्न आदेश दिएको छु, आरोप प्रमाणित भए हदैसम्मको कारबाही हुन्छ, पीडितले न्याय पाउनुहुन्छ ।’

यसैगरी सो अस्थायी प्रहरी चौकीमा कार्यरत प्रहरी प्रमुख तथा प्रहरी सहायक निरीक्षक चन्द्र भण्डारीलाई पनि आवश्यक सोधपुछ तथा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा झिकाइएको निमित्त प्रदेश प्रहरी प्रमुख सिंहले जानकारी दिनुभयो ।

प्रहरीले बालिका बलात्कार गरेको भन्ने मुद्दा दर्तापछि अहिले जिल्लामा निकै खैलाबैला मच्चिएको छ । उता सो अस्थायी प्रहरी चौकीका प्रमुख तथा प्रहरी सहायक निरीक्षक चन्द्र भण्डारीले घटना भएको दिन र समयमा प्रहरी जवान कहींकतै नगएको र ब्यारेकमै रहेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो– ‘मेरो प्रहरी जवान सिंह र निज बालिकाको प्रेम सम्बन्ध रहेको भन्ने मैले घटना भएपछि मात्रै जानकारी पाएको हुँ, राती कोठामा गएर घिसारेको, कुटपिट तथा बलात्कार गरिएको भन्ने आरोप छ, त्यो दिन मेरो प्रहरी ब्यारेकमै छ, कहीं गएको छैन, अन्य दिन यी दुई जनामा केके हुन्थ्यो मलाई जानकारी भएन ।’

सिंहले यही कात्तिक १३ गते राती किशोरीलाई बलात्कारपछि हत्या प्रयास गरेको पीडित किशोरीका आफन्तले आरोप लगाएका छन् । राती ११ बजे किशोरीको घरमा उनी सुतेकै कोठामा पुगेर बलात्कार गरेको र उनलाई घिसार्दै घरदेखि तल रूखमा झुन्ड्याएको र पछि किशोरी अर्धचेत अवस्थामा भेटिएको पीडित किशोरीका बुबाको आरोप छ ।

के हो त खास घटना ?
बझाङ जिल्ला घर भएका निज प्रहरी जवान सिंह विगत दुई वर्षदेखि उक्त अस्थायी प्रहरी चौकीमा कार्यरत थिए । त्यहाँ कार्यरत रहँदा सिंह र बालिकाबीच चिनजान हुनुका साथै मायाप्रेम बसेको स्थानीयले बताएका छन् । प्रेम सम्बन्धपश्चात् उनीहरुबीच विवाह गर्ने सहमतिसमेत भएको स्थानीयको भनाइ छ ।

विवाह गर्ने सहमति भए पनि पछि प्रहरी जवानले विवाह नगर्ने भनेपछि आक्रोशमा पीडित भनिएकी बालिककाले आत्महत्या गर्न आफ्नै घरनजिक रहेको भिमलको रूखमा सिमेन्टको कट्टाको धागोले बाटिएको डोटीले आफै फाँसी लगाउन खोजेको र डोरी कमजोर भएका कारण चँुडिएको स्थानीयबासी बताउँछन् ।

बालिकाले आत्महत्या गर्न खोजेको घटना बाहिरिएपछि पीडित बालिका र पीडक भनिएका प्रहरी जवानबीच फाँसी लगाउन खोज्दा घाइते भएकी बालिकाको उपचार गरेपछि विवाह गर्ने भन्ने सहमति भएको स्रोतले जानकारी दिएको छ ।

स्रोतले दुवै पक्षबीच विवाह गर्ने भन्ने सहमति भएको हो भनी दाबी गरे पनि प्रहरी भने यो विषयमा मौन बसेको छ । सो विषयमा प्रहरीले कुनै पनि कुरा खोलेको छैन ।

गहिरो प्रेम सम्बन्धमा बसेका निज जोडी पछि पीडक भनिएका प्रहरी जवानले कुनै कारण नदेखाई विवाह नगर्ने बताएपछि ती बालिकाले आत्महत्या रोजेको त्यहाँका कतिपय स्थानीयबासीको बुझाइ रहेको छ ।