अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा सङ्क्रमण विज्ञ फाउचीलाई निस्कान गर्ने चेतावनी


एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबारको निर्वाचनबाट आफु पूनः राष्ट्रपतिमा निर्वाचित भएमा सङ्क्रमण रोग विज्ञ डा। एन्थोनी फाउचीलाई जिम्मेवारीबाट हटाउने चेतावनी दिनुभएको छ ।सङ्क्रमण रोग न्युनिकरण, नियन्त्रण र व्यवस्थापनसम्वन्धी देशको उच्च जिम्मेवारीमा रहनु भएका फाउचीलाई उहाँले हटाउने चेतावनी दिनुभएको हो ।

अमेरिका व्यापक सङ्क्रामक रोग कोरोनाभाइरसबाट अत्यन्त आक्रान्त बनेको वेला नै उहाँले हटाउने चेतावनी राष्ट्रपति ट्रम्पले दिनुभएको समाचारमा जनाइएको छ ।गत वसन्त ऋतुदेखि नै फैलिएको महामारी नियन्त्रण तथा व्यवस्थापन गर्न राष्ट्रपति ट्रम्प असफल भएको र त्यसमा डा फाउचीको कुरालाई उहाँले वेवास्ता गर्ने गरेको आरोप लाग्दै आएको थियो ।

डा फाउचीले अमेरिकामा सङ्क्रमण फैलिन नदिन वा सचेतना गर्न र व्यवस्थापन गर्न आफ्नो तर्फबाट सक्दो प्रयासहरु गर्दै आउनुभएको भन्दै कतिपयले उहाँको प्रशंसा गर्ने गरेका छन् ।

कोरोनाभाइरसका कारण अमेरिकामा अहिलेसम्म कम्तीमा दुई लाख ३१ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।फ्लोरिडामा आयोजना गरिएको चुनावी कार्यक्रममा सम्वोधन गर्नेक्रममा राष्ट्रपति ट्रम्पले डा फाउचीप्रति असन्तुष्टि व्यक्त गर्दै सङ्क्रमण र त्रास फैलिनुमा डा फाउची पनि दोषी रहेको आरोप लगाउनुभयो ।

चुनावी कार्यक्रममा आफ्ना समर्थकहरुले डा फाउचीलाई निस्कासन गर्नुपर्ने माग उठाउँदै नारा लगाएपछि राष्ट्रपति ट्रम्पले उहाँलाई निस्कासन गर्ने चेतावनी दिनुभएको हो ।“यस बारेमा मलाई अरु केही भन्नु पर्दैन, केवल निर्वाचनसम्म पर्खिनुस्, निर्वाचन सकिएपछि मैले तपाईहरुको सुझावलाई कार्यान्वयन गर्नेछु,” उहाँले आफ्ना हजारौँ समर्थकहरुलाई जवाफ फर्काएदै भन्नुभयो ।