- डा. टीकाराम पोखरेल
दोलखाका पुराना शिक्षक यज्ञराज ढुंगेलको ‘हेड सर’ नामक आत्मवृत्तान्त प्रकाशन भएको छ । नेपाली साहित्यमा पछिल्लो समयमा आत्मवृत्तान्त साहित्यले उर्वरताको शिखरतिर यात्रा गर्दै गरेको अवस्थामा निस्केको यो पुस्तकले नेपाली आत्मवृत्तान्त साहित्यमा एक पाइला थप्ने नै छ । पछिल्लो समय आत्मवृत्तान्त निकै फस्टाएको विधा हो । पाठकहरुले रुचाएको विधा पनि हो । आत्मवृत्तान्तमा सिद्धान्तभन्दा बढी कुनै व्यक्तिको जीवनका भोगाइहरु हुन्छन् । वास्तवमा मानिसको जीवनको परिभाषा भोगाइ नै त हो । जसले जस्तो जीवन भोग्छ, त्यसले त्यस्तै गरी जीवनको वर्णन गर्दछ । त्यसैले हरेक मानिसका जीवनप्रतिका फरक–फरक अनुभूति नै आत्मवृत्तान्तमा पोखिने गर्दछन् ।
आत्मवृत्तान्तमा आधारभूतरुपमा तीनवटा कुरा अपेक्षित हुन्छन्– लेखाइमा इमानदारिता, शिक्षा वा सन्देश, पाठकीय आकर्षण (आनन्द) । आत्मवृत्तान्त लेख्ने क्रममा किताबका पानाहरुमा आफूलाई पोखिरहँदा लेखक इमानदार भएन भने लेखकसँग जोडिएर आउने अन्य पात्रहरु पीडित बन्न सक्छन् । शिक्षा वा सन्देश नभए अरुले रित्तो रहेछ भन्लान् वा गलत सन्देश दियो भन्लान् । पढ्दा मिठास नभए आत्मवृत्तान्त पढ्दै नपढ्लान् ।
आत्मवृत्तान्त ‘म’को वर्णन हो, तर मभित्रको ‘म’ (अहम्) को फेहरिस्त होइन, ‘म’भित्रको ‘म’ निरपेक्ष रहेर समाज सापेक्षतामा आत्मवृत्तान्त लेखियो भने त्यो पक्कै समाजका लागि हितकर हुन सक्छ । साहित्यको इतिहासमा बालकृष्ण समको मेरो कविताको आराधन र बीपी कोइरालाहरुको आत्मवृत्तान्तहरुको आफ्नै महत्व छ । नेपाली आत्मवृत्तान्तमा नयाँ मोड भने जगदीश घिमिरे (अन्तरमनको यात्रा) बाट आएको हो । आफ्नो अन्तरमनले अरुको मनलाई छुने प्रयास नै आत्मवृत्तान्त हो । जगदीश घिमिरेपछि विजय कुमार, विनोद चौधरी, मदनकृष्ण–हरिवंशका आत्मकथाहरुले निकै चर्चा पाए । आत्मकथाहरुको बाढी नै आयो । पछिल्लो समय राजनीतिक क्षेत्र, न्याय क्षेत्र, प्रशासनका सेवानिवृत्तहरुले मात्र होइन लेखक, कलाकार र व्यापार व्यवसाय क्षेत्रमा समेत आत्मकथा लेख्ने प्रतिस्पर्धा चल्यो । यस्ता आत्मकथाहरु आफैँ लेखेका, अरुले लेखिदिएका, अरुलाई लेख्न लगाइएका थुप्रै प्रकृतिका देखिए । यसै परिप्रेक्ष्यमा यज्ञराज ढुंगेलको ‘हेड सर’ प्रकाशित भएको हो ।
ढुंगेलको यो पुस्तकमा दोलखाका नेता एवम् उहाँका पूर्वविद्यार्थीहरु आनन्द पोखरेल, पशुपति चौलागाईं, केदार उप्रेतीका साथै पुराना पत्रकार भैरव रिसालका ढुंगेलप्रतिका धारणाहरु पनि समाविष्ट छन् । उनीहरुले आफ्ना ‘हेड सर’प्रति मुक्तकण्ठले प्रशंसा गरेका छन् । उहाँको कृति पढ्दा आफैँ नोस्टाल्जिक भइन्छ । कथा पढ्दै जाँदा कतिपय कथाहरु पाठकका आफ्नै कथा हुन् कि जस्तो लाग्छ ।
पुस्तकमा ढुंगेलका बाल्यकालीन संस्मरण र युवाकालीन संघर्षका कथाहरु छन् । यसमा ढुंगेलको तीन व्यक्तित्वको चर्चा छ– शिक्षक, राजनीतिज्ञ र सहकारी अभियन्ता । यद्यपि उहाँ समाजसुधारक र साहित्यिक व्यक्तित्वसमेत भए पनि पुस्तक पढ्दा ती कुरालाई कम महत्व दिएको हो कि जस्तो देखिन्छ । हेड सर पुस्तक पढ्दा यस्तो लाग्छ, यो एक यज्ञराज ढुंगेलको मात्र कथा होइन, यज्ञराजहरुको कथा हो । भलै ती ‘हरु’ भने हाम्रो समाजमा निकै कम होलान् । शिक्षकको रुपमा हेर्दा उहाँ औपचारिक शिक्षाका मात्र होइन राजनीतिका पनि शिक्षक देखिनुहुन्छ । दोलखाका नेताहरु हेड सरको रुपमा ढुंगेललाई आदर्श मान्नुहुन्छ । आनन्द पोखरेल, पशुपति चौलाागाईंहरुले ढुंगलेलाई आफ्ना पथप्रदर्शक, प्रेरक व्यक्तित्वको रुपमा चित्रित गर्नुभएको छ ।
२०३० सालमा केही समय हनुमन्तेश्वर प्रा.वि. काभ्रे र त्यसपछि वैत्येश्वर मा.वि.मा प्रवेश गरी १४ वर्ष त्यहाँ सेवा गरेपश्चात् पुनः हनुमन्तेश्वर मा.वि. काभ्रेको हेड मास्टरको रुपमा कार्य गरी २८ वर्षपश्चात् वि.सं. २०५९ मा सेवा निवृत्त हुनुभएको देखिन्छ । शिक्षक हुँदा पञ्चायती विरोधी राजनीतिमा लागेको, अर्राष्ट्रिय तत्वको आरोप खेपेको, बेलाबेलामा जेल जीवनयापन गरेको तीता अनुभवदेखि वैत्येश्वर मा.वि. नाम्दुमा विद्यालय सुधार गरेको, काभ्रेमा नमुना हाइस्कुल बनाएको, क्याम्पस स्थापना, बोर्डिङ सञ्चालन, दलित बस्तीमै स्कुल स्थानान्तरणका मीठा अनुभवहरु पुस्तकमा समेटिएका छन् । केही सयम विद्यालयमा शिक्षक र व्यवस्थापन समितिको अध्यक्ष भए पनि उहाँको जीवनको अधिकांश समय हेड मास्टर (प्रधानाध्यापक) भएर नै बितेको देखिन्छ । विद्यार्थी माथि पुग्नु नै शिक्षकको सफलता र सन्तुष्टि हो भन्ने धारणा ढुंगेलले आफ्नो आत्मसंस्मरणमा गर्नुभएको छ ।
यज्ञराज ढुंगेल भन्नुहुन्छ– मैले राजनीति गरेँ पनि गरिन पनि । तर पुस्तक पढ्दा लाग्छ, उहाँले मज्जाले राजनीति गर्नुभएको छ । विद्यालय तथा कलेज जीवनमा विद्यार्थी राजनीतिमा उहाँको सक्रियता देखिन्छ भने शिक्षक संगठनको दोलखा जिल्ला अध्यक्ष र सचिव तथा नेकपा एमाले जिल्ला दोलखा जिल्ला कमिटी र सचिवालय सदस्यको रुपमा समेत काम गर्नुभएको देखिन्छ । राजनीति जीवनको अभिन्न अंग हो भन्ने बुझाइ भए पनि उहाँले वर्तमान राजनीतिप्रति भने आलोचनात्मक दृष्टि र कताकति असन्तुष्टि पनि पुस्तकमा पोख्नुभएको छ ।
आफूलाई जिन्दगीमा सहकारीबाट ऊर्जा प्राप्त भएको बताउने ढुंगेलले पञ्चायत कालका सहकारीका कथादेखि गाउँमा काजकिरिया र बिहावारीमा घरधुरी चामल पैसा उठाएर सहयोग गरी सहकार्य गरेको विगतका कथा कहनुहुन्छ । गाउँमा जनसचेतन सहकारी संस्था स्थापना र सञ्चालनमा व्यहोर्नुपरेको दुःख अनि सफलताको वर्णन गर्दा ३४ जनाबाट डेढ लाख सदस्य बनाएर सफलताको शिखरमा पुगेकोदेखि जिल्लामा शिक्षक सहकारी, हिमाली स्वास्थ्य सहकारी खोलेको र सहकारी तन, मन र वचनमा मात्र होइन आफ्नो डीएनएमा पनि होला भन्ने धारणा राख्नुहुन्छ ।
ढुंगलेले विद्यालय र कलेजका मात्र होइन सहकारी आन्दोलनका समेत गुरु भएर देश–विदेश भ्रमण गर्नुभएको देखिन्छ । सहकारीले गरिबी न्यूनीकरण गर्दैन भन्नेहरुलाई चुनौती दिँदै अर्थशास्त्रका दर्शनले समेत सहकारी नचल्ने, त्यो जनताको मेहनतले चल्ने बुझाइ मात्र होइन देशमा समाजवाद ल्याउने हो भने त्यो सपना पनि सहकारीले नै पूरा गर्ने ढुंगेलको विश्वास छ ।
ढुंगेल आफ्ना परिवारलाई प्रेरणाको स्रोत मान्नुहुन्छ । मानिस मानव र दानव दुवै हुन्, आस्तिक र नास्तिक दुवैले ईश्वर मान्छन्, ईश्वर भनेको विचार हो, पुनर्जन्ममा विश्वास छैन, स्वर्ग र नर्क दुवै यहीँ छन्, प्रशंसा स्वर्ग र निन्दा वा तिरस्कार नर्क हो, धर्म र पाप सात जुनी होइन, सात पुस्तासम्म भोग्नुपर्छ, आध्यात्मिक र भौतिक समन्वयमा नै समाज चल्नुपर्छ तर दुवैमा अतिवाद हुनुहुन्न, औषधि र अणुबम दुवै बनाउने मानिस हो जस्ता गहन विचारहरु ढुंगेलको आत्मकथामा भेटिन्छन् ।
मान्छे मर्छ, मान्छेको कथा मर्दैन । तर मर्न नदिए मात्र नमर्ने हो । हेड सर लेखेर ढुंगेलले आफ्ना कथालाई जीवन्त बनाउनुभएको छ । जीवनमा अरुको घरमा भान्से बस्नेदेखि लिएर कन्डक्टर, सेल्सम्यान, विद्युत् र बैंकको जागिरदार हुँदै पछि गाउँ फर्केर हेड सरसम्म भएका ढुंगलेको यो आत्मकथा जीवनका उतारचढावको दस्तावेज हो । यो दर्शनको सगरमाथा होइन, व्यवहारको महासागर हो । पुस्तकमा हास्य रस छैन, तर यसले सबैलाई गम्भीर बनाउँछ । पुस्तक पढ्दा नयाँ पुस्ताले इतिहास थाहा पाउने मात्र होइन, भावी पुस्तालाई संघर्ष गर्न मार्गनिर्देशन प्राप्त हुन्छ ।
यज्ञराज ढुंगेल काठमाडौँ छोडेर गाउँको सेवा गर्न आउनुभएको, त्यही भएर यज्ञराज बन्नुभएको देखिन्छ । उहाँको भनाइ सापटी लिँदा शिक्षा र सहकारीमा सफल, राजनीतिमा असफल ठाने पनि पुस्तक पढ्दा यज्ञराज ढुंगेल राजनीतिमा सधैँ सफल देखिनुहुन्छ । दोलखाली नेताहरु आनन्द पोखरेल, पशुपति चौलागाईंहरुले शिक्षाका मात्र नभएर राजनीतिका समेत गुरु मानेका यज्ञराज ढुंगेललाई असफल राजनीतिज्ञ कसरी भन्न मिल्छ र ? पदको लोभ नगर्ने हो भने कुनै पनि व्यक्ति राजनीतिमा असफल हुँदैन ।
मान्छे जिन्दगीमा कहिल्यै अवकास हुँदैन । शिक्षक, सहकारी र राजनीतिका विगत जीवनका केही गतिविधिबाट केही विश्राम लिन खोजेजस्तो देखिए पनि उहाँ सिर्जनामा सक्रिय हुनुहुन्छ । सत्यको लागि लडेकोले नै गाउँको फलेकघरे काइँलो आज सबैको आदर्श हेड सर बनेको निष्कर्ष पुस्तकमा भेटिन्छ । पुस्तकमा ‘म’ पात्रलाई लेखिरहँदा कसैप्रति नमीठो प्रहार छैन, ‘म’को वर्णन गर्दा ‘म’भित्रको ‘म’ (अहम्) बोलेको छैन, तर आफ्नो धारणा स्पष्ट राख्नुभएको छ ।
जीवनमा आफूसँग जोडिन आएका केही पात्रप्रति झीना–मसिना असन्तुष्टि पनि देखिन्छ । समग्रमा हेड सर पुस्तक शिक्षा र सन्देशमूलक छ । पढ्दा सररर बग्छ । मिठास छ । हेड सरमा उहाँले आफ्नो जीवन अक्षरशः लेख्नुभयो वा भएन, त्यो गौण कुरा हो तर जति लेखियो त्यसमा लेखकीय इमानदारिता देखिन्छ । यज्ञराज ढुंगेल हेड सरका रुपमा जति सम्मानित हुनुहुन्छ उहाँको हेड सर पुस्तक पनि त्यत्तिकै संग्रहणीय, पठनीय र मननीय बनेको छ ।
प्रतिक्रिया