२१ दिनपछि खुल्यो गाउँपालिकाको ताला

0
Shares

नेपाल समाचारपत्र, बैतडी
बैतडीको सुर्नया गाउँपालिकामा गत असोज २६ गतेदेखि गरिएको तालाबन्दी खुलेको छ । जनप्रतिनिधि र स्थानीय संघर्ष समितिबीच आइतबार भएको छलफलपछि ताला खुलेको हो ।
गाउँपालिकामा लामो समयदेखि तालाबन्दी खुलेपछि सोमबारदेखि कामकाज सुचारु हुने गाउँपालिका उपाध्यक्ष लीला विष्टले बताउनुभयो । जनप्रतिनिधिका तर्फबाट उपाध्यक्ष लीला विष्ट, वडा नं ५ का कार्यवाहक वडाध्यक्ष धनबहादुर मडै र संघर्ष समितिका तर्फबाट कृष्णबहादुर चन्द, प्रेम लुहारलगायतको सहभागितामा छलफल भएको थियो ।
तत्कालका लागि साविककै ठाउँबाट काम सञ्चालन गर्ने र केन्द्रका विषयमा सर्वपक्षीय, सर्वदलीय छलफलबाट टुंगो लगाउने सहमतिसहित ताला खुलेको उपाध्यक्ष विष्टले जानकारी दिनुभयो । सुर्नया गाउँपालिकाको केन्द्रका विषयमा विवाद हुँदा गत असोज २८ गते झडपसमेत भएको थियो । सो झडपमा गाउँपालिका अध्यक्ष बीरबहादुर विष्टसहित १४ जना घाइते भएका थिए ।
गाउँपालिकाले पबितामा केन्द्र सार्न लागेको भन्दै स्थानीयले संघर्ष समिति बनाएर गाउँपालिकामा तालाबन्दी गरेका थिए । असोज २८ गते ताला खोल्ने क्रममा अध्यक्ष विष्टसहितका व्यक्तिमाथि ढुंगा प्रहार भएको थियो । स्थानीयले केन्द्रका विषयमा सर्वोच्चमा मुद्दा विचाराधीन भएकाले केही निर्णय नगर्न माग गरेका छन् ।
यसअघि शुक्रबार जिल्ला प्रशासन कार्यालयमा पनि भएको सर्वपक्षीय छलफलबाट ताला खोल्ने निष्कर्ष निकालिएको थियो । सुर्नया गाउँपालिकाका जनप्रतिनिधि, प्रदेश सांसद प्रेम प्रकाश भट्ट, नेपाली कांग्रेस बैतडीका जिल्ला सभापति नरेन्द्र थापा, नेकपाका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिको सहभागितामा बसेको बैठकले लामो समयदेखिको ताला खोल्ने निर्णय गरिएको हो ।