नेकपाको विवादले पार्टी एकता जटिल मोडमा

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ । आन्तरिक भागवण्डाको कारण झन्डै टरिसकेको विवाद पुनः उत्कर्षमा पुगेको हो ।

सरकार सञ्चालनको विषयलाई लिएर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच देखिएको विवादले पार्टी एकता नै जटिल मोडमा पुगेको छ । पार्टीको स्थायी समिति बैठकले गरेको निर्णय प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले अटेर गरेर अगाडि बढेको आरोप प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले लगाएको छ भने सरकारको काममा कार्यकारी अध्यक्ष प्रचण्डले बढी हस्तक्षेप गरेको ओलीपक्षले आरोप लगाएको छ ।

भदौ अन्तिममा सम्पन्न स्थायी समिति बैठकले सरकारले महŒवपूर्ण निर्णय गर्दा कार्यकारी अध्यक्ष प्रचण्डसँग समन्वय गरेर गर्ने भनिएको थियो । तर प्रधानमन्त्री ओलीले राजदूत नियुक्ति, मन्त्रिपरिषद् पुनर्गठन, कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव, भारतीय रअका प्रमुख सामन्त गोयलसँगको भेटवार्ता र पर्सा घटनाको विषयलाई लिएर प्रचण्ड नेपाल पक्षले व्यापक असन्तुष्टि जनाउँदै आएको छ ।

एकपछि अर्को निर्णयप्रति असन्तुष्टि जनाउँदै प्रचण्डले १२ दिनसम्म भेटवार्ता गर्न अस्वीकार गर्दै आएकोमा शनिबार प्रधानमन्त्री ओलीसँग बालुवाटारमा छलफल गर्नुभएको थियो । भेटमा प्रचण्डले आफ्ना असन्तुष्टि राख्दै सचिवालयको बैठक राख्न प्रस्ताव गर्नुभएको थियो । अध्यक्षद्वयको बीचमा कुरा मिल्न नसकेपछि अब सचिवालय बैठकमार्फत नै छिनोफानो गर्ने तयारीमा प्रचण्ड नेपाल पक्ष लागेका छन् ।

विवाद उत्कर्षमा पुगिरहेका बेला आइतबार प्रचण्ड नेपाल पक्षका सचिवालय सदस्यहरुको भेलामा प्रचण्डले प्रधानमन्त्री ओलीले अलग पार्टी बनाएर जान प्रस्ताव गरेको ब्रिफिङ गर्नुभएको छ । आफ्नै निवास खुमलटारमा बहुमत सचिवालय सदस्यको भेलामा प्रचण्डले शनिबारको भेटमा प्रधानमन्त्री ओलीले यस्तो प्रस्ताव राख्नुभएको खुलासा गर्नुभएको हो ।

वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापा ’बादल’ खुमलटारमा शनिबार लामो छलफल भएको थियो । ९ सदस्यीय सचिवालयमा ६ जना सदस्य प्रधानमन्त्री ओलीको विपक्षमा देखिएका छन् । मन्त्रिपरिषद् पुनर्गठनमा असन्तुष्ट भएसँगै उपाध्यक्ष गौतम ओलीसँग असन्तुष्ट हुँदै प्रचण्डसँग नजिकिएका छन् ।

भेलामा सहभागी एक सचिवालय सदस्यले प्रचण्डको भनाइ उद्धृत गर्दै भने– ‘हिजोदेखि प्रधानमन्त्रीले अलगअलग जाऊँ भन्ने प्रस्ताव गर्नुभो, हामीले पार्टी एकताका लागि अन्तिमसम्म प्रयत्न गर्नुपर्छ ।’

२०७५ साल जेठ २ गते तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्दा प्रधानमन्त्रीको कार्यकाल समानताको आधारमा बाँडफाँट गर्ने सहमति भएको थियो । त्यसपछि दुवै दलका अध्यक्षसमेतले हस्ताक्षर गरेर सातबुँदे सहमति भएको थियो । २०७६ मंसिरमा त्यो सहमतिलाई खारेज गर्दै नेकपा सचिवालय बैठकले प्रधानमन्त्री ओलीले नै पूरै कार्यकाल सरकारको नेतृत्व गर्ने र प्रचण्डले पार्टीको कार्यकारी अध्यक्षको जिम्मेवारी लिने सहमति भएको थियो ।

तर पद बाँडफाँट भए पनि अधिकारबाट वञ्चित गरेको भन्दै प्रचण्ड असन्तुष्ट बनेपछि झन्डै विभाजनको संघारमा पुगेको थियो । चार महिना लामो विवादपछि बनेको कार्यदलले दिएको प्रतिवेदनअनुसार २०७७ भदौ २६ गते बसेको नेकपा स्थायी कमिटी बैठकले दुई अध्यक्षको जिम्मेवारी बाँडफाँट गरेको थियो भने प्रधानमन्त्री ओलीले ५ वर्ष सरकारको नेतृत्व गर्ने निर्णय गरेको थियो।

त्यसपछि पनि दुई अध्यक्षबीच असमझदारी बढ्दै गएपछि फेरि पनि पार्टी फुटको संघारमा पुगेको छ ।
पार्टीभित्र विवाद चर्किंदै गएको बेला पार्टी महासचिव एवम् अर्थमन्त्री विष्णु पौडेलले नेकपामा गम्भीर संकट उत्पन्न भएको बताउनुभएको छ ।

दुई अध्यक्षको बीचमा मध्यकर्ताको भूमिका निर्वाह गर्दै आउनुभएका पौडेलले सामाजिक सञ्जाल ट्विटरमा आफ्ना धारणा राख्दै नेकपाको एकीकृत र अविभाज्य अस्तित्वका सामु गम्भीर संकट उत्पन्न भएको उल्लेख गर्नुभएको छ ।

कार्यदल बनाएर विवादको समाधान गरेको नेकपाभित्र सहमति कार्यान्वयन हुन नपाउँदै पुनः विभाजनको संघारमा पुगेको छ । दुई अध्यक्षबीचको टकरावको कारण पार्टी नै विभाजन हुने अवस्था सृजना भएको छ ।

प्रधानमन्त्री ओलीले प्रचण्ड असन्तुष्ट भएपछि वरिष्ठ नेता माधवकुमार नेपाललाई आफ्नो पक्षमा ल्याउन दुईपटक भेटवार्ता गर्नुभएको थियो । तर ओलीको उक्त प्रयास पनि असफल भएपछि सचिवालयमा ओली अल्पमतमा पर्नुभएको छ । स्थायी समिति बैठक र केन्द्रीय कमिटी बैठकमा पनि अध्यक्ष ओली अल्पमतमा रहनुभएको छ ।