ओमशंकर श्रेष्ठ, काठमाडौं
नेपालमा कोरोनाका कारण करिब एक हजारले ज्यान गुमाएका बेला विश्वमा १२ लाखभन्दा बढी नागरिक यसकै कारण कालको मुखमा पुगेका छन् । विश्वमा चिसो बढेसँगै कोभिडले उग्र रुप लिने संकेत देखाइसकेको छ । एकातिर मान्छे लापर्बाह बन्दै छ भने अर्कातिर संक्रमणको संख्या पनि वृद्धि भइरहेको छ ।
यसले शक्तिशालीदेखि गरिब नागरिकसम्मको कठालो समाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र बेलायती प्रधानमन्त्री बोरिस जोहन्सनदेखि विश्वका थुप्रै धनाढ्य, बुद्धिजीवी, लोकप्रिय व्यक्तिहरुलाई यसले गाँजेको थुप्रै उदाहरण दोहोरिसकेका छन् ।
विश्वभरिका नाम चलेका औषधी उत्पादक कम्पनीदेखि यस भाइरसको शुरुआत भएको मुलुक चीनसमेत यसविरुद्धको खोप विकासका लागि दिनरात कसरत गर्दै छन् । मै हुँ भन्ने विकसित, शक्तिशाली तथा धनी मुलुक र वैज्ञानिकहरुसमेत यसको स्थायी उपचार कहिलेसम्ममा विश्वबजारमा आइपुग्ने हो भनेर निश्चित भविष्यवाणी गर्न सकेका छैनन् ।
विकास कार्यका त कुरै छोडौं, मानिसहरुको नियमित दिनचर्यालगायत विद्यार्थीको भविष्यसँग प्रत्यक्ष सरोकार राख्ने शिक्षण संस्थाको स्थिति पनि अस्तव्यस्त रहेको छ ।
युरोपमा अहिले कोरोना भाइरसको दोस्रो चरणको संक्रमण बढिरहेको छ । यसलाई मध्यनजर राख्दै धेरै दिनदेखि फ्रान्सले रात्रिकालीन कफ्र्यु लगाउँदै आएको छ । त्यसैको अनुसरण गर्दै बेल्जियमले सोमबारदेखि लागू हुने गरी आगामी डिसेम्बरको मध्यसम्मका लागि अत्यावश्यक सामग्री बिक्री नहुने पसलहरु र अन्य वैयक्तिक सेवाप्रदायक व्यवसायहरु बन्द हुने गरी लकडाउन जारी गरेको छ । साथै अब त्यहँँ कुनै पनि सार्वजनिक स्थानमा चार जनाभन्दा बढी व्यक्ति जम्मा हुन पाउने छैनन् ।
सुपर मार्केटहरुले एकपटक एकजना गरी अत्यावश्यक दैनिक उपभोग्य र घरायसी सामान मात्र बिक्री गर्न पाउनेछन् । शरद्कालीन विद्यालय बिदाको म्याद पनि आगामी नोभेम्बर १५ सम्मका लागि लम्ब्याइएको छ ।
यसैगरी बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोनाको खतरालाई ध्यानमा राख्दै देशमा लकडाउन लगाउने फैसला गरेका छन् । लकडाउन नोभेम्बर ५ बाट शुरु हुने भएको छ ।
प्रधानमन्त्री जोनसनले इंग्ल्यान्डमा ४ हप्ताका लागि लकडाउन लगाइएको जानकारी दिएका छन् । यसअन्तर्गत पब, रेस्टुरेन्ट, अत्यावश्यक सामान नभएका पसल तथा अन्य सेवा सञ्चालनमाथि प्रतिबन्ध लगाइएको छ । लकडाउन नोभेम्बर ५ देखि डिसेम्बर २ सम्म रहनेछ । आगामी क्रिसमसको समय जनजीवन सामान्य बनाउने उद्देश्यले पनि यो लकडाउन गरिएको बताइएको छ ।
काठमाडौंका सिडियोदेखि मेयरसम्म पनि कोरोना संक्रमणबाट बच्न सकेनन् । दशैंपछि पुनः तिहारको तयारीका लागि देशका प्रमुख शहर र त्यसमा पनि राजधानीका तीनै शहरमा त्यतिकै चहलपहल र भिड बढ्ने निश्चितजस्तो देखिएकाले सरकार र स्थानीय प्रशासनले समयमै सुरक्षा तथा सतर्कताका उपायहरु अवलम्बन गर्ने तयारी गरेको जानकारीमा आएको छ । आर्थिक र प्राविधिक सहयोग गर्दै आएका मुलुकहरु नै धराशयी बनिरहेको वर्तमान अवस्थामा नेपाल सरकारले नीतिमा परिवर्तन ल्याउनु र व्यवहार सुधार्नु आवश्यक रहेको विज्ञहरुको धारणा छ ।
कहाँ कति कोरोना ?
यही आइतबारसम्म प्राप्त तथ्यांकअनुसार विश्वभरि कोरोनाभाइरस संक्रमणका कारण मर्नेको कुल संख्या ११ लाख ८९ हजार ४ सय ९९ पुगेको छ ।
अफ्रिका ः कुल संक्रमित संख्या १७ लाख ७६ हजार ५ सय ९५, सबैभन्दा बढी संक्रमित देखिएका पाँच अफ्रिकी मुलुकहरु ः दक्षिण अफ्रिका (७ लाख २३ हजार ६ सय ८२), मोरोक्को (२ लाख १५ हजार २ सय ९४), इजिप्ट (१ लाख ७ हजार ३ सय ७७), इथियोपिया (९५ हजार ७ सय ८९) र नाइजेरिया (६२ हजार ६ सय ९१) ।
एसिया ः कुल संक्रमित संख्या १ करोड ३४ लाख ६१ हजार २ सय ९३, सबैभन्दा बढी संक्रमित देखिएका पाँचवटा एसियाली मुलुक ः भारत (८१ लाख ३७ हजार १ सय १९), इरान (६ लाख ४ हजार ९ सय ५ सय ५२), इराक (४ लाख ७० हजार ६ सय ३३), इन्डोनेसिया (४ लाख ६ हजार ९ सय ४५) र बंगलादेश (४ लाख ६ हजार ३ सय ६४) ।
अमेरिका ः कुल संक्रमित संख्या २ करोड ५ लाख ४६ हजार ५ सय ८०, सबैभन्दा बढी संक्रमित देखिएका पाँच अमेरिकी मुलुक ः संयुक्त राज्य अमेरिका (९० लाख ४७ हजार ४ सय २७ ), ब्राजिल (५५ लाख १६ हजार ६ सय ५८), अर्जेन्टिना (११ लाख ५७ हजार १ सय ६६), कोलोम्बिया (१० लाख ६३ हजार १ सय ५१) र मेक्सिको (९ लाख १८ हजार ८ सय ११) ।
युरोप ः कुल संक्रमित संख्या ९ करोड ८४ लाख ७ सय ३६, सबैभन्दा बढी संक्रमित देखिएका पाँच युरोपेली मुलुक ः रसिया (१५ लाख ९९ हजार ९ सय ७६), फ्रान्स (१३ लाख ३१ हजार ९ सय ८४), स्पेन (११ लाख ८५ हजार ६ सय ७८), संयुक्त अधिराज्य (९ लाख ८९ हजार ७ सय ४५) र इटाली (६ लाख ४७हजार ६ सय ७४) ।
यसैगरी अफ्रिकामा कुल मृतको संख्या ४२ हजार ६ सय ८८ छ । मृतकको संख्या सबैभन्दा बढी रहेका पाँच अफ्रिकी मुलुक ः दक्षिण अफ्रिका (१९ हजार २ सय ३०), इजिप्ट (६ हजार २ सय ५८), मोरोक्को (३ हजार ६ सय २५), अल्जेरिया (१ हजार ९ सय ५६) र इथियोपिया (१ हजार ४सय ६४) ।
एसियामा कुल मृतकको संख्या २ लाख ३९ हजार ६ सय ७५ छ । मृतकको संख्या सबैभन्दा बढी रहेका पाँच एसियाली मुलुक ः भारत (१ लाख २१ हजार ६ सय ४१), इरान (३४ हजार ४ सय ७८), इन्डोनेसिया (१३ हजार ७ सय ८२), इराक (१० हजार ८ सय ६२) र टर्की (१० हजार १ सय ७७) ।
अमेरिकामा कुल मृतकको संख्या ६ लाख ४० हजार ५ सय १३ छ । मृतकको संख्या सबैभन्दा बढी रहेका पाँच अमेरिकी मुलुक ः संयुक्तराज्य अमेरिका (२ लाख २९ हजार ७ सय ८), ब्राजिल (१ लाख ५९ हजार ४ सय ७७ (मेक्सिको (९१ हजार २ सय ८९) , पेरु (३४ हजार ४ सय ११) र कोलोम्बिया (३१ हजार १ सय ३५)
युरोपमा कुल मृतकको संख्या २ लाख ६५ हजार ५ सय ६५ छ । मृतकको संख्या सबैभन्दा बढी रहेका पाँच युरोपेली मुलुक ः संयुक्त अधिराज्य (४६ हजार २ सय २९), इटाली (३८ हजार ३ सय २१), फ्रान्स (३६ हजार ५ सय ६५), स्पेन (३५ हजार ८ सय ७८) र रसिया (२७ हजार ६ सय ५६) ।
प्रतिक्रिया