एक महिनामा ८ लाखको अखाद्य वस्तु बरामद

0
Shares

विनोद सिंह विष्ट, बैतडी
गएको एक महिनायता बैतडीमा करिब ८ लाखको अखाद्य वस्तु बरामद गरी नष्ट गरिएको छ । संयुक्त बजार अनुगमन समितिले एक महिनामा विभिन्न बजारमा अनुगमन गर्दा ७ लाख ७० हजार बढीको म्याद गुज्रेको सामग्री बरामद गरेर नष्ट गरेको हो ।
असोज पहिलो सातादेखि असोज अन्तिम सातासम्म जिल्लाका विभिन्न स्थानमा बजार अनुगमन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख कृष्णदत्त लेखकले बताउनुभयो । जिल्लाको शिवनाथ र पञ्चेश्वर गाउँपालिकाबाहेकका सबै स्थानीय तहमा पहिलो चरणमा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा चाउचाउ, बियर, पीठो, नम्किनलगायतका वस्तुहरू म्याद गुज्रेका पाइएका उहाँले बताउनुभयो । उपभोग्य सामग्रीको उत्पादन मिति र उपभोग्य मिति नहेर्ने गरेका कारण बजारमा म्याद नाघेका सामग्रीसमेत विक्री–वितरण भइरहेका लेखकले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘म्याद नाघेका सामग्रीका बारेमा न व्यापारीले हेर्ने गरेका छन् न उपभोक्ताले नै । यसले गर्दा बजारमा म्याद नाघेका सामग्री विक्री–वितरण भइरहेका छन् ।’
बजार अनुगमनका क्रममा दर्ता नभएका पसलहरूलाई सम्बन्धित निकायमा दर्ता हुन आग्रह गरिएको छ भने प्रत्येक पसलमा मूल्यसूची राख्नसमेत आग्रह गरिएको छ । चाडपर्वलाई लक्षित गरेर अनुगमन गरिएको भए पनि अनुगमनलाई निरन्तरता दिनुपर्ने उपभोक्ताले बताएका छन् ।
निरन्तर अनुगमन भएमा बजारमा हुने कालोबजारीमा केही कमी आउने निङ्गलाशैनी मावि देहीमाण्डौंका शिक्षक तिलक बोहराले बताउँदै उहाँले भन्नुभयो– ‘पसलबाट किन्ने सामग्रीको म्याद भए÷नभएका बारेमा उपभोक्ताहरू पनि सचेत हुनु जरुरी छ ।’
सामग्री खरिद गर्दा उपभोग्य र उत्पादन मिति हेरेर मात्रै खरिद गर्न टोलीले आग्रह गरेको छ । उपभोक्तामा मिति हेर्ने बानी नभएकाले बजारमा म्याद गुज्रेका सामग्री विक्री भइरहेको अनुगमन टोलीको निष्कर्ष छ ।