ढिके नुनसँग भटमास र बेथे साट्दै किसान

0
Shares

विमल विष्ट, डोटी
जिल्लाका कृषक आफूले फलाएका भटमास र बेथे ढिके नुनसँग साट्नका लागि प्रमुख बजारमा धाउने गरेका हुन् । स्थानीय बजारमा गाउँबाट आएका किसानले प्रतिकिलो भटमाससँग ढिके नुन तीन किलो तथा बेथे सँग साढे दुई किलो साट्न थालेका छन् ।
किसानले धान भित्र्याइसकेपछि अहिले भटमास बिक्री गर्न व्यस्त रहेको आदर्श गाउँपालिका मौवाका तिलक ओझाले बताउनुभयो । उहाँले भन्नुभयो–‘यो वर्ष गाउँमा भटमास र बेथे धेरै राम्रो उत्पादन भएको छ, किसानलाई बिक्री गर्न तथा नुनसँग साट्न भ्याइ नभ्याइ भएको छ ।’ भटमास तथा बेथे बिक्रीका लागि किसान दिपायल, पिपल्ला, सिलगढी, बिपीनगर, मौवा, सुवाखानलगायतका ठाउँमा पुग्ने गरेका छन् । किसानले भटमास नगदमा बिक्री गर्ने भन्दा पनि ढिके नुनसँग साट्ने गरेको नुन साट्दै आएका दिपायल पिपल्लामा रहेको घटाल ट्रेडर्स एन्ड सप्लायर्सका सञ्चालक वीक्रमबहादुर साउदले बताउनुभयो । उहाँले भन्नुभयो–‘ग्राहकहरु नगदभन्दा पनि नुन र अन्य सामानसँग साट्न सहज मान्ने भएकाले पनि हामी वस्तु साटासाट गरिरहेका छांै ।’
नौ वटै स्थानीय तहका अधिकांश गाउँका कृषक भटमाससँग ढिके नुन साट्न व्यापारी कहाँ धाउन थालेका छन् । भाटमाससँग किसानले ढिके नुन साट्न थालेपछि स्थानीय बजारमा अहिले भटमास संकलकहरुले ठाउँ–ठाउँमा ढिके नुन सहितका तराजु राखेर बसेको देख्न पाइने गरेको दिपायलका अर्का स्थानीय बहादुर कोलीले जानकारी दिनुभयो । यहाँका किसानले वर्षायाममा प्रायः सबैभन्दा बढी भटमास, बेथे, कोदो तथा अन्य दलहन बाली लगाउँदै आएका छन् । भटमास र बेथे प्रायः जंगली जनावरले नोक्सान नगर्ने भएका कारण पनि बढी त्पादन हुने गरेको जिल्ला कृषि समन्वय एकाइ कार्यालयले जनाएको छ ।
ग्रामीण क्षेत्रमा आयोडिनयुक्त नुनभन्दा पनि ढिके नुन बढी प्रयोग हुने भएका कारण किसान भटमाससँग ढिके नुन साट्न आकर्षित हुन गरेको स्थानीयबासीहरु बताउछन् । गाईं, भैंसीको कुडोमा ढिके नुन हालेर नै दिइने भएकाले पनि किसानले बढी जसो ढिके नुन नै खरिद गर्ने गरेको केआईसिंह गाउँपालिका–५ का स्थानीयबासी जहरसिंह खवासले बताउनुभयो । उहाँले भन्नुभयो–‘गाउँघरमा वस्तु भाउसहित मानिसका लागि बढी जसो ढिके नुन नै प्रयोग गरिन्छ, यहाँका स्थानीयले वर्ष भरीमा लागि भटमास र बेथेसँग नुन साटेर जम्मा गरेर राखेका हुन्छन् ।’ जिल्लामा आयोडिनयुक्त नुनको प्रयोग बढाउन विभिन्न कार्यक्रम गरिए पनि यहाँका गाउँघरका स्थानीयले खासै आयोडिनयुक्त नुनको प्रयोग नगर्ने गरेको जिल्ला अस्पताल डोटीका अध्यक्ष यज्ञराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो– ‘गाउँमा आयोडिनयुक्त नुन प्रयोग गराउन हामीले विभिन्न जनचेतनामुलक कार्यक्रम ग¥यौं, आयोडिनयुक्त नुनका फाइदाबारे सिकायौं तर कसैले पनि खासै आयोडिनयुक्त नुन प्रयोग गरेनन् ।’