भारत र पाकिस्तानबीच चामल विवाद

0
Shares

नयाँदिल्ली, (एजेन्सी)
दक्षिण एसियाका दुई आणविक शक्ति सम्पन्न शक्तिशाली मुलुक भारत र पाकिस्तानबीच पुनः तनाव शुरू भएको छ। तर, यसपटक सीमा विवादलाई लिएर नभई विश्वभरि लोकप्रिय बासमती चामललाई लिएर तनाव चर्केको हो। इस्लामावादले भारतले आफ्नो मुलुकमा मुलुकको अद्भूत उत्पादनको रूपमा रहेको बासमती चामल निर्यातका लागि युरोपेली संघ (ईयू)बाट अनुमति लिन योजना बनाएकोमा आपत्ति जनाएको हो।
भारतले सो चामललाई संरक्षित भौगोलिक सूचक (पीजीआई)मा दर्ता गर्न खोजेको छ। हाल युरोपेली संघले स्कटिस ह्विस्की र स्टिल्स चिजलगायतका विश्वका विभिन्न अन्य उत्पादनलाई गुणस्तर र प्रतिष्ठा वा विशेषताको आधारमा (पीजीआई)को दर्जा दिएको छ।
वास्तवमा यदि भारतले यो दर्जा पाएको खण्डमा भारतीय बासमती चामल आफ्नोभन्दा उच्च दर्जाको हुने र आफ्नो बासमती चामलको अन्तर्राष्ट्रिय निर्यात परिमाण प्रभावित हुन सक्ने भएका कारण पाकिस्तान चिन्तित भएको हो। हाल ईयूले भारतबाट वार्षिक ९ लाख मेट्रिक टन अर्थात् आवश्यकताको दुईतिहाइ बासमती चामल आयात गर्दै आएको छ।
अन्य बाँकी परिमाण पाकिस्तानबाट आयातित चामलबाट परिपूर्ति हुँदै आएको छ। तर, केही वर्षयता भारतीय चामलमा कीटनाशक ट्रिसाइलाजोलको परिमाण असुरक्षितस्तरमा भेटिन थालेपछि पाकिस्तानी चामलले युरोपेली बजारमा बढी महत्व र स्थान पाउन थालेको हो।