पेट्रोलको १० पैसाले कोरोना सचेतना

0
Shares

हेटौंडा, (नेस) ।

रजत वर्षका अवसरमा हेटौंडा–११ थानाभर्याङको ओम सदाशिव आयल स्टार्सले ‘ओम सदाशिव सामाजिक सेवाकोष’ स्थापना सामाजिक सेवा गर्दै आएको छ । पम्पबाट बिक्री हुने डिजेल तथा पेट्रोलको प्रतिलिटर १० पैसाका दरले संकलन गरी हुने कुल रकमबाट कोष स्थापना गरिएको हो ।

गत वर्ष आर्थिक विपन्न बालबालिकाले अध्ययन गर्न छात्रवृत्ति पाएका थिए । स्टोर्सका सञ्चालक सिद्धिलाल श्रेष्ठले कोष स्थापना गर्नुभएको थियो । यस वर्ष कोरोनाबाट बच्ने उपायबारे सन्देश र कोरोना कहरका कारण खान धौ–धौ परेका परिवारलाई लायन्स क्लबमार्फत करिब ५० हजार रुपियाँ बराबरको खाद्यान्न सहयोग गरिएको सञ्चालक श्रेष्ठले बताउनुभयो ।

सञ्चालक श्रेष्ठका अनुसार गत वर्ष जम्मा भएको करिब २ लाख रुपियाँमध्ये १ लाख रुपियाँ रोटरी क्लब अफ मकवानपुरमार्फत सामुदायिक विद्यालयका आर्थिक विपन्न बालबालिका छनोट गरी छात्रवृत्ति उपलब्ध गराइएको छ ।

बाँकी १ लाख पनि शिक्षा क्षेत्रमा खर्च गरिएको उहाँले बताउनुभयो । आर्थिक विपन्न परिवारका सन्तति छनोट गरेर अर्को संस्थासँगको समन्वयमा १ लाख रुपियाँको छात्रवृत्ति उपलब्ध गराइएको सञ्चालक श्रेष्ठले जनाउनुभयो ।

उक्त कोषमा मासिक रकम जम्मा गर्ने गरिएको र गठित कोष सञ्चालन समितिको सिफारिसअनुसार शिक्षा र स्वास्थ्य क्षेत्रमा खर्च गरिने उहाँले बताउनुभयो ।