सहसचिव पदको विज्ञापन अनिश्चित् कालका लागि स्थगित

0
Shares

सुनील महर्जन, काठमाडौं

सर्वोेच्च अदालतको अन्तरिम आदेशपछि लोकसेवा आयोगले निकालेको नेपाल प्रशासन सेवाको सहसचिवको विज्ञापन अनिश्चित्कालका लागि स्थगित गरेको छ ।

सहसचिव पद लुकाएको भन्दै नेपाल सरकारका उपसचिवहरुले दायर गरेको रिटको सम्बन्धमा अदालतले आयोगको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेलगतै आयोगले सो प्रक्रिया रोकेको हो । आयोगले सोमबार एक सूचना प्रकाशित गरी दरखास्त लिनेसमेतका सम्पूर्ण प्रक्रिया अर्को आदेश नभएसम्मका लागि स्थगित गरेको जनाएको छ ।

यसअघि आयोगले प्रशासन सेवाका राजपत्रांकित प्रथम श्रेणी, सहसचिव वा सोसरहका रिक्त पद पूर्तिका लागि प्रकाशित बढुवा सूचना र विज्ञापनहरूमा दरखास्त संकलनको कार्य गरिरहेको थियो ।

अदालतको आदेश कार्यान्वयनका लागि सो पदमा दरखास्त लिनेसमेतका सम्पूर्ण प्रक्रिया अर्को आदेश वा सूचना नभएसम्मका लागि स्थगित गरिएको आयोगका उपसचिव देवीप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

यसअघि गत बुधबार आयोगले सहसचिव पदका लागि विज्ञापन खुलाएको थियो । आयोगले गत बुधवार ज्येष्ठता र कार्यसम्पादन र कार्यक्षमता मूल्यांकनद्वारा पूर्ति गर्ने गरी सहसचिवको ६२ पद विज्ञापन गरेको थियो ।

रिक्त सहसचिवको पद लुकाएर विज्ञापन प्रकाशित गरेको भन्दै नेपाल सरकारका उपसचिवहरूले लोक सेवा आयोगसमेतलाई विपक्षी बनाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो ।

आयोगको सूचना प्रकाशित गरेकै दिन बुधबार वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की र अधिवक्ता नारायणप्रसाद पराजुलीको इजलासले दायर गरेको निवेदनमाथि सुनुवाइ गरेको थियो । त्यस क्रममा न्यायाधीश सपना प्रधान मल्लको इजलासले बिहीबार लोक सेवा आयोगसमेतका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
आफ्नो सेवा समूहमा रिक्त रहेका र यसै आर्थिक वर्षभित्रमा रिक्त हुने ८६ वटा पदको प्रतिशत निर्धारण गरी पदपूर्तिका लागि मन्त्रालयले विवरण पठाई आयोगले सूचना प्रकाशन गर्नुपर्ने रिट निवेदनमा उल्लेख गरिएको छ । २४ वटा रिक्त पद लुकाई पदपूर्तिको सूचना प्रकाशित गरेको पाइएको भन्दै गणना नगरिएका २४ वटा पद थप गरेर मात्र प्रक्रिया अगाडि बढाउन रिट निवेदनमा माग गरिएको थियो ।

निजामती सेवा ऐनको दफा २१ बमोजिम बढुवाका लागि सेवा अवधि पुगेको र दफा २२ बमोजिम सम्भाव्य उम्मेदवार हुन नपाउने अवस्थासमेत नरहेको भन्दै विभिन्न मन्त्रालयमा कार्यरत उपसचिवहरूले आयोगको विज्ञापन प्रकाशनलगत्तै मुद्दा हालेका थिए ।

यसैगरी अदालतले कोरोना भाइरसबाट संक्रमितलाई पनि लोक सेवा आयोगको परीक्षामा सहभागी हुन पाउने वातावरण बनाउन अन्तरिम आदेश जारी गरिसकेको छ । यसैबीच आयोगले सोमबार नै कात्तिक १६ गतेदेखि लिने सम्पूर्ण लिखित परीक्षा स्थगित गरेको छ ।

आयोगले अर्कोे एक सूचना जारी गर्दै कोरोना महामारीका कारण परीक्षामा सहभागी हुने उम्मेदवारहरुमा सिर्जना भएको भय र आयोगका कर्मचारीहरुमा समेत संक्रमण पुष्टि भएका कारण अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरिएको जानकारी दिएको छ ।