मधुसूदन रायमाझी, काठमाडौं
सरकारले प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यको दशैंभत्ता बापतको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले प्रधानमन्त्री तथा मन्त्रीहरुले दशैंभत्ता बापतको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय भएको बताउनुभएको हो ।
सोमबारको पत्रकार सम्मेलनमा मन्त्री गुरुङले मन्त्रिपरिषद्का सबै सदस्यहरुले दशैंभत्ता बापतको रकम कोरोना कोषमा कोरोना रोकथाम तथा उपचारमा सघाउने गरी जम्मा गर्ने निर्णय भएको जानकारी दिनुभाये । मन्त्रिपरिषद्को बैठकले संघीय मन्त्रिपरिषद्को निर्णयको मर्मअनुसार प्रदेश सरकारका मन्त्रीहरुलाई पनि कोषमा जम्मा गर्न आग्रह गर्ने निर्णय गरेको छ ।
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका सबै सांसदले दशैंभत्ता बापत आएको रकम कोरोना कोषमा जम्मा गर्ने भएका छन् । संसदीय दलका उपनेता सुवास नेम्वाङले संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका सभामुख लगायतसँग छलफल गरेपछि यस्तो निर्णय भएको बताउनुभयो ।
नेम्वाङले पार्टी नेता तथा सबै सांसदहरुले सादा ढंगले दशैं मनाउने र सबैलाई त्यही आग्रह गर्ने निर्णय गरेको पनि जानकारी दिनुभयो । दशैं खर्चबापतको भत्ता सरकारको कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेका नेम्वाङले जानकारी दिनुभयो । नेकपाका प्रतिनिधिसभामा १ सय ७४ र राष्ट्रियसभामा ४६ गरी संघीय संसद्मा नेकपाका २ सय २० जना सांसद छन् ।
त्यसैगरी प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले दशैंभत्ता बापत प्राप्त भएको ४३ लाख २० हजार ८२० रुपियाँ फिर्ता गर्ने निर्णय गरेको छ । चौतर्फी आलोचनापछि नेपाली कांग्रेसका सबै संघीय सांसदले दशैंभत्ता बापत प्राप्त गरेको रकम फिर्ता गर्ने निर्णय गरेको हो ।
कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले सोमबार एक विज्ञप्ति जारी गर्दै कोरोनाभाइरस महामारीका कारणले उत्पन्न हालको विषम परिस्थितिमा आमनेपाली जनताले रोग, भोक, अभाव, पीडा र कठिनाइ भोगिरहेको अवस्थामा जनप्रतिनिधिलाई दशैंभत्ता वितरण गर्ने सरकारको निर्णय समय सान्दर्भिक र उचित नभएकाले पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने सबै संघीय संसद्का सदस्यहरुलाई उपलब्ध गराइएको दशैंभत्ता बापतको रकम फिर्ता गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
प्रतिक्रिया