खिजीदेम्बाका सामुदायिक विद्यालयमा इन्टरनेट

0
Shares

लीला सुुनुवार, ओखलढुंगा
विद्यार्थीलाई वैकल्पिक माध्यामद्वारा पठनपाठनमा सहजता गराउनका लागि खिजीदेम्बा गाउँपालिकाले आधारभूत तह र माध्यमिक तहका विद्यार्थीमा इन्टरनेट सेवा विस्तार गरेको छ । गाउँपालिकाले पालिकामा रहेका ८ वटा आधारभूत तह र ७ वटा माध्यमिक तहका विध्यालयमा इन्टरनेट सेवा विस्तार गरेको हो ।

वैकल्पिक विधिबाट (अनलाइन) कक्षा सञ्चालन गर्न विद्यालयमा इन्टरनेट सेवा जडान गरिएको खिजीदेम्बा गाउँपालिका अध्यक्ष वेदबहादुर रोकाले बताउनुभयो । इन्टरनेटको पहुँच नपुगेका १४ वटा आधारभूत तहका विद्यालयमा प्रोजेक्टरको माध्यमबाट सामाजिक दूरी कायम गरी अडियो भिडियो कक्षा सञ्चालन गरिनेसमेत अध्यक्ष रोकाको कथन छ ।

इन्टरनेट नहँुदा खिजीदेम्बामा रहेका केही विद्यालयले डाटाबाट नेट चलाई अनलाइन कक्षामा सहभागी हुने गरेका थिए । १५ वटा विद्यालय र पालिकामा रहेका अन्य ३ वटा सरकारी कार्यलयमा नेट जडान गर्नका लागि कुल ११ लाख रुपियाँ विनियोजन गरिएको खिजीदेम्बा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास पौडेलले बताउनुभयो ।

गाउँपालिकाले नेटको व्यवस्था गरिदिएपछि अभिभावक र विद्यार्थीसँग समन्वय गरेर कक्षा सञ्चालन गर्ने तयारी भइरहेको कुण्डली माविका प्रअ नरबहादुर खत्रीको कथन छ । त्यस्तै, विद्यालयमा नेटको सुविधा भएपछि विद्यार्थीको पठनपाठनमा सहजता हुने मात्रै नभएर विद्यालयको प्रशासनिक कामकाजमा र शिक्षकका क्षमता अभिवृद्धि गरेर शैक्षिक गुणस्तरमा समेत वृद्धि गरिने चुली आधारभूत विद्यालय प्रअ वेदबहादुर महतराले बताउनुहुन्छ ।