लन्डनमा खिचिएको साथी तिमी मेरो सार्वजनिक


गायक–गायिका ताराप्रकाश लिम्बु र मेलिना राईद्वारा स्वरबद्व साथी तिमी मेरो बोलको गीत सार्वजनिक गरिएको छ। गीतमा संगीत गायक तथा संगीतकार ताराप्रकाश लिम्बुकै रहेको छ भने शब्द रचना मुकेश राईको छ।

गीतमाथि म्युजिक भिडियो पनि निर्माण गरिएको छ। म्युजिक भिडियोमा लन्डन फेसन हाउसद्वारा लन्डनमै आयोजित मिसेस यूके नेपाल–२०१८ को दोस्रो संस्करणकी सेकेन्ड रनर्सअप सविना श्रेष्ठले अभिनय गरेकी छिन्।

लन्डनमा बसोबास गर्दै आएकी सविना केही फोटोसुट र आकलझुकल मोडलिङमा देखिँदै आए पनि उनको यो पहिलो म्युुजिक भिडियो हो। उनलाई सञ्जय कँडेल र रिना भण्डारीले पनि साथ दिएका छन्।

म्युजिक भिडियो निर्देशक तथा कोरियोग्राफर प्रभु गुरुङले निर्देशन गरेका छन् भने छायांकन सुमन श्रेष्ठ र अनुराग श्रेष्ठले साथ दिएका छन्।

पुप्रण प्रडक्सनले बजारमा ल्याएको गीतको म्युजिक भिडियो सुशील गुरुङले सम्पादन गरेका छन्। म्युजिक भिडियो लन्डनको ऐतिहासिक र पर्यटकीय क्षेत्रवरपर छायांकन गरिएको छ।