इन्द्रबहादुर शाक्य
जमरा भनेको के हो ? जौलाई बालुवा अथवा पाँगो माटोमा फूलको रुपमा रोपी पलाएर आएको बिरुवालाई जमरा भनिन्छ । अर्थात् सो जौको अङ्कुर निस्किएपछि त्यसलाई जमरा भन्दछन् । सत्ययुगमा देवगण र दैत्यगणको बीचमा झगडा भइरहने हुन्थ्यो । त्यो झगडाको अन्त्य महिलाद्वारा मात्र हुन्छ भन्ने देवगणलाई विश्वास थियो । त्यसैले उनीहरुले स्त्री, दुर्गामाता अथवा दुर्गा भवानी वा देवीलाई आह्वान गरी दैत्यलाई वध गर्नको लागि योजना तयार गरे । सो योजनाअनुसार आश्विन शुक्ल पक्ष प्रतिपदा (अमाई) को शुभ साइतमा पूजा गरी जौ रोप्ने काम प्रारम्भ गरिन्छ । जलले भरिएको घडा स्थापना गरी पूजा गरेर जौ रोप्ने दिनलाई घटस्थापना भन्ने गरिएको छ ।
घटस्थापनाको दिन विधिविधानले जौ छरेर त्यसलाई प्रकाश नछिर्ने गरी छोपिन्छ । त्यसपछि दैनिक पूजा गरी उपासना गर्दै गइन्छ । जमरामा आँकुरा आएपछि बास्ना फैलिँदै जान्छ । दैत्य राजामा त्यो जमरा खान पाए अमर जीवन पाउने लालसा बढ्छ । त्यसैले दैत्यराजले भैंसीको रुप धारण गरी भैंसीकै बथानमा गएर बस्यो । भैंसी नै भएर गएमा देवीगणहरुले थाहा पाउँदैनन् भन्ने उसको मनमा लागेको थियो । उता भगवतीले यो जमरा खान आउने पशु (भैंसी) नै दैत्य हो भन्ने अनुमान गरिन् । दैत्य नै पशु भएर आउँछ भन्ने उनलाई थाहा थियो ।
मध्यरातमा जमरा खान गयो भने कसैलाई थाहा हुँदैन भन्ने सो दैत्यलाई लाग्यो । जमरा राखेको आठौं दिनको मध्यराति भैंसीरुपी दैंत्यले जमराको बास्ना भएको ठाउँमा जान पाइला बढायो । भैंसीले जमराको पछाडि दुर्गा देवी बसिराख्छिन् भन्ने बिचार नै गरेन । ऊ जमरा राखेको स्थानमा पुग्यो । जमरा खान जिब्रो निकाल्दै अगाडि बढ्यो । जिब्रोले जमरामा छुन मात्र बाँकी भएको बेलामा दुर्गा माताले त्यो भैंसीको रुप लिएको दैत्यलाई वध गरी दिइन् । त्यसैले त्यस रातलाई कालरात्रि पनि भन्दछन् । त्यस बेलामा नवमी शुरु हुने हुनाले नवरात्रि पनि भनिन्छ ।
देवी भगवतीले भैंसीरुपी दैत्यको वध गरेकाले उसले जमरा खान पनि पाएन । यदि सो जमरा खान पाएको भए दैत्यले अमरत्व पाउने थियो । नवमीको दिनमा दैत्यलाई मारेको हुनाले सबै खुशी भए । दशमीको दिन विजय उत्सव घोषणा गरी विजया दशमी उत्सव मान्ने चलन बसेको हो । सत्ययुगदेखि अहिलेसम्म जमरा रोपी भगवती मातालाई चढाउने चलन छ । त्यसपछि ठूलाबडाबाट प्रसादको रुपमा टीका थापी जमरा शिरमाथि राख्ने चलन अहिलेसम्म पनि प्रथाको रुपमा चलिआएको छ ।
जमराको फाइदा ः
जमराको आँकुरालाई हेरिरह्यो भने आँखालाई आनन्द हुन्छ । जमरा दशैँमा पूजा गरी शरीरको माथिल्लो भाग टाउकोमा राखिन्छ । त्यसरी जमरा राखेको दिन सो जमराको प्रभावले शरीरलाई फूर्ति हुन्छ । मानिसको अनुहार नै भिन्नै देखिन्छ । हँसिलो अनुहार हुन्छ । जमराको माला लगाइदिने, कानमा राख्ने चलन पनि छ । जसले गर्दा श्वास–प्रश्वास प्रणालीमा पनि फाइदा पुग्छ । यसको हावा हामीलाई धेरै लाभकारी हुन्छ । त्यसैले पूर्णिमाको दिनसम्म राख्ने चलन चलिरहेको हो । दशमीदेखि पूर्णिमासम्म आफन्तजनकहाँ गएर टीका–जमरा लगाई आउने चलन अहिलेसम्म छ । यसको फाइदा मानिसले बुझ्न सकेको हुँदैन । जमरा प्रयोग गरियो भने सुख, शान्ति र स्वास्थ्यलाई लाभ भएको भावना आउँछ । यो शास्त्रीय मान्यता पनि छ ।
हिजोआज यसको अध्ययन–अनुसन्धानबाट प्राप्त भएको कुरो के हो भने, साह्रो भएको असाध्य रोगमा पनि यसको रस पिउनुभयो भने रोग निको हुन्छ । जौको जमरा १२ महिना नै रोपेर यसबाट फाइदा लिइरहेको पनि देखिन्छ ।
जमरा एक किसिमको जडीबुटी हो । यो जडीबुटीबाट साह्रो भएको रोगहरु पनि निको हुन्छ भनिन्छ । आर्यघाट पुगेको मानिस पनि जमराको रस पिएर केही वर्ष बाँचेको हामीले सुनेका छौं । शिरको पीडा, मानसिक अशान्ति, फोक्सो–मुटुको रोग, अक्सिजनको कमी, अमलपित्त, रगत सफाइ आदिमा यो जमराले फाइदा पु¥याउँछ । यसबाट भिटामिन आदि वृद्धि हुन्छ । यो स्वास्थ्यको लागि पनि अति उत्तम मानिएको छ । अहिले यो जमरा १२ महिना रोपी व्यापार गर्ने व्यक्तिहरु धेरै भइसकेका छन् । पाटनमा अग्निमथको गल्लीमा पनि यसको रस निकाली बिक्री वितरण गरिरहेको देखिन्छ । यो जमराको बारेमा इन्टरनेटमा पनि जानकारी लिन सकिन्छ ।
यो जमरालाई धार्मिक आस्थाबाट हामीलाई लगाउने चलन चलिरहेको छ । वास्तविकरुपमा यो स्वास्थ्यको लागि अति उत्तम जडीबुटी हो । योे जडीबुटी जुन बेलामा पनि रोपी यसको प्रयोग गर्न सकिन्छ । तर शास्त्रीय मान्यताअनुसार दशैंको समयमा देवीको पूजा–आराधना गरेको जमराको रस अति उत्तम हुने भनिएको छ । सुकेको वा नसुकेको दुवै थरी जमरा औषधिको रुपमा प्रयोग गर्न सकिन्छ । प्रायः दशैं असोजमा पर्ने गर्छ तर यसपालि आश्विन महिनामा मलमास परेकोले घटस्थापना कार्तिकमा पर्न गएको हो ।
(लेखक शाक्य नेपाल हस्तकला महासंघका पूर्वअध्यक्ष हुनुहुन्छ ।)
प्रतिक्रिया