काठमाडौं, (नेस)
नेपाली सेनाको वार्षिक रणनीति तयार गर्ने उद्देश्यले आइतबारदेखि सैनिक मुख्यालयमा पृतनापति सम्मेलन शुरु भएको छ ।
प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्नुभएको उक्त सम्मेलनमा देशभरको पछिल्लो देशको सुरक्षा अवस्थाका बारेमा छलफल हुने भएको छ ।
बैठकमा देशभरका सबै पृतनापतिहरुको आफ्नो कार्यक्षेत्रको राजनीतिक, सामाजिक र सुरक्षाको अवस्थाको बारेमा सम्मेलनमा धारणा राख्ने भएका छन ।
सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय सुरक्षाको गम्भीरता र संवेदनशीलतालाई मध्यनजर गर्दै अगाडि बढ्न सैनिक नेतृत्वलाई निर्देशन दिनुभएको थियो ।
उहाँले कोभिड–१९ प्रतिकार्य, रोकथाम र नियन्त्रण, शव व्यवस्थापन तथा विपद्का विभिन्न घटनाहरुमा उद्धार तथा सहयोगमा नेपाली सेनाले खेलेको भूमिका तथा हालसालै नेपाली सेनाले सम्पन्न गरेको घाँटिबगरदेखि छाँग्रुसम्मको गोरेटो र घोडेटो बाटो निर्माणको प्रशंसा गर्नुभएको थियो ।
प्रधानमन्त्री ओलीले नेपाली सेनाको आधुनिकीकरण योजना तथा आर्थिक अनुशासनको कायमी र प्रणाली र पद्धतिको कार्यान्वयनमा सरकारको पूर्ण सहयोग र समर्थन रहेको बताउनुभएको थियो ।
सम्मेलनमा प्रधानसेनापति पूर्णचन्द्र थापाले कोभिड–१९ महामारीका कारण सृजित अन्योल एवं निराशा तथा आर्थिक गतिविधिमा देखिएको सुस्तताका कारण उत्पन्न हुनसक्ने चुनौतीको सामना गर्ने गरी आगामी कार्ययोजनाको निर्माण गर्न सम्मेलन उपयोगी हुने दाबी गर्नुभयो ।
कार्यक्रमको शुभारम्भमा बलाधिकृत रथी प्रभुराम शर्माले सरकार तथा रक्षा मन्त्रालयबाट सकारात्मक सहयोग प्राप्त भइरहेको र यस्तै सहयोग भविष्यमा पनि निरन्तर भइरहने अपेक्षा राखेको बताउनुभएको थियो ।
सम्मेलनमा सहभागी महानिर्देशनालय, निर्देशनालय, कार्यालय र विभागका प्रमुखहरु तथा पृतनापतिहरुले आ–आफ्नो जिम्मेवारी क्षेत्रको कार्य समीक्षा, वर्तमान वस्तुस्थिति, भविष्यमा आइपर्नसक्ने चुनौतीहरु एवम् सुझावहरुसहितको प्रतिवेदन आज सोमबार प्रस्तुत गर्नुहुने भएको छ ।
प्रतिक्रिया