ताप्लेजुङमा सर्पदंशको बिगबिगी : झारफुककै भर पर्दा कयौंले गुमाइसके ज्यान


दिलकुमार लिम्बु, ताप्लेजुङ

ताप्लेजुङको फक्तताङलुङ गाउँपालिका–५ तापेथोककी धनमाया मावो घरनजिकैको सुँगुरको खोरमा झार उखेल्दै थिइन् । दिउँसोको समय टन्टलापुर घाम लागेको थियो । उनलाई भने सुँगुरको खोरवरपर सफा गरिसक्ने हतारो थियो । सोही क्रममा झारमा लुकेर बसेको सर्पले धनमायाको हातमा डस्यो ।

छिमेकी राम लिम्बुका अनुसार गत असार २८ गते दिउँसो सर्पले डसेको हो । श्रीमान् बुद्धपाल लिम्बुले दुई घण्टा पैदल टाढाबाट धामी (फेदाङ्वा) बोलाएर झारफुक गर्न लगाए । भोलिपल्ट बिहान चार बजे धामीकै अगाडि उनको मृत्यु भएको लिम्बुको कथन छ । उक्त गाउँबाट नजिकैको लेलेप स्वास्थ्य चौकी तीन घण्टा पैदल दूरीमा छ ।

मिक्वाखोला गाउँपालिका–४ थलङ निवासी अमरसिं थलङ रोजगारीको सिलसिलामा फक्ताङलुङ गाउँपालिका–६ लेलेप सडकको ग्याविन बुन्न पुग्नुभयो । राति छिमेकीको घरमा मोबाइल चार्ज गर्न जाने क्रममा रुखमा लुकेर बसेको सर्पले गत भाद्र २० गते मध्यरात गालामा डस्यो । गालामा डसेपछि शरीरमा बिष फैलन नदिनका लागि डोरीले बाँध्न पनि समस्या भएपछि झारफुक गरे ।

तर, सिकिस्त अवस्था पुगेपछि थप उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङमा प¥याइयो । जिल्ला अस्पताल ताप्लेजुङमा एक रात राखी थप उपचारका लागि भाद्र २२ गते झापाको चारआली सर्पदंस अस्पतालमा पु¥याइएको थलङको आफन्तले बताउनुभयो । अहिले थलङको उपचार भइरहेको छ ।

त्यस्तै, फक्ताङलुङ गाउँपालिका–५ तापेथोकका १३ वर्र्षीय फाल्गुनन्द तुम्बाहाम्फेलाई गत २०७६ वैशाख २६ गते घरमै सर्पले डस्यो । उनलाई सुतिरहेको समयमा हातमा सर्पले डसेको थियो । परिवारले धामी बोलाए । धामीले घाउ नजिकै डोरीले बाँधे र झारपात पिसेर लगाइदिए । यसरी धामीले १५ दिनसम्म बिष झार्न प्रयास गरिरहे ।

निको हुनुको साटो हात सुनिन्दै गयो । केही नलागेपछि छिमेकीको आग्रहमा तापेथोक स्वास्थ्य चौकी लगिउको स्थानीय दीपक लिम्बु बताउनुहुन्छ । स्वास्थ्य चौकीले सुविधा सम्पन्न अस्पतालमा लैजान रेफर ग¥यो ।

उपचारका लागि झापातर्फ लैजाने क्रममा इलामको फिक्कल पुग्दा उनको मृत्यु भयो । स्थानीय लिम्बुका अनुसार बालकलाई निको बनाउन इसाइ धर्मको विधिअनुसार पटक–पटक बाइबल पढाइएको थियो ।

सर्पले डसेर घाइते बनेकी फक्ताङलुङ–४ इखाबुकी नैनरानी लिम्बुलाई पनि परिवारले झारफुक गर्न लगाए । धामीले निको पार्छु भनेपछि दुई दिनसम्म बाटो हेरे । बिरामीको अवस्था नाजुक बन्दै गयो । धामीले पार लगाउन नसकेपछि जिल्ला अस्पताल पु¥याइयो ।

अस्पतालले झापाको चारआलीस्थित सर्पदंश उपचार केन्द्रमा लैजान भन्यो । त्यहाँ पनि उपचार सम्भव नभएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा बिर्तामोडमा गत साउन १३ गते नैनरानीको मृत्यु भयो । घरबाट आधा घण्टा पैदलमा रहेको अलैंची बगानमा घाँस काट्न जाँदा उन सर्पको शिकार बनेकी थिइन् स्थानीय बताउँछन् ।

गत जेठ २१ गते फुङलिङ नगरपालिका–२ लहरेगाउँका ६८ वर्षिय प्रातलाल बम्जनलाई सुतेकै ठाउँमा सर्पले डस्यो ।

राति धामी बोलाएर विष झार्न लगाइयो । एक घण्टा दूरीमा रहेको जिल्ला अस्पताल लानतर्फ कसैले चासो दिएनन् । उनको बिहान पाँच बजे मृत्यु भयो । यी एक नमुना छटना मात्र हुन् ।

फक्ताङलुङ गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख दिनेश भट्टराईका अनुसार उक्त गाउँपालिकामा मात्रै पछिल्लो तीन वर्षमा १५ जनाको सर्पले डसेर मृत्यु भएको छ । आर्थिक वर्ष २०७६÷०७७ मा ७ जना, २०७५÷०७६ मा ४ जना र २०७४÷०७५ मा ४ जनाको सर्पको टोकाइपछि मृत्यु भएको भट्टराईको भनाइ छ । यो अवधिमा सर्पले डसेर घाइते हुने २० भन्दा बढी छन् ।

फक्ताङलुङ गाउँपालिका–४ का पूर्व प्रधानपञ्च मणीप्रसाद लावुङका अनुसार त्यो भेगमा पाइने सर्प गुर्भे र हरियो (सतुवा) हुन् । यी सर्पले अलैंची बगानमा काम गर्दा र घाँस–दाउरा गर्दा मानिसलाई आक्रमण गर्ने गरेको छ । सर्पले डसेपछि झारफुक गर्ने, डोरीले कस्ने, झारपात माडेर लगाउने, बुटी बाँध्ने जस्ता परम्परागत उपचार पद्धति व्याप्त छ ।

यी सर्प विषालु नभए पनि डसेको ठाउँमा अन्य संक्रमण भएर बिरामीको ज्यान जाने गरेको जिल्ला अस्पताल ताप्लेजुङका प्रमुख डा. सोनिङ लामा बताउनुहुन्छ । सर्पले डसेपछि घरेलु उपचारमा लाग्नाले कतिको घरमै मृत्यु हुन्छ, कोही अन्तिम अवस्थामा मात्रै अस्पताल आइपुग्ने गरेको डा. लामाको कथन छ ।