गाउँपालिका अध्यक्षमाथि कुटपिट, कांग्रेसको ध्यानकर्षण

0
Shares

बैतडी, (नेस)
नेपाली कांग्रेस बैतडीका सचिव एवं सुर्नया गाउँपालिकाका अध्यक्ष वीरबहादुर विष्टमाथि भएको आक्रमणप्रति नेपाली कांग्रेस बैतडीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपाली कांग्रेसले आज विज्ञप्ति जारी गर्दै कुनै विषयवस्तुको निर्णय लिनुपर्दा वैधानिक र कानुनी बाटो हुँदाहुँदै अमानवीय घटना हुनु दुर्भाग्यपूर्ण भएको जनाएको छ ।

ज्यान जान सक्ने हिसाबले घटाइएको सो घटनाको वास्तविक छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न पनि कांग्रेसले सरकालाई आग्रह गरेको छ । नेपाली कांग्रेस बैतडीका सभापति नरेन्द्रसिंह थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा यस्ता खालका घटनाहरुलाई निरुत्साहित हुने गरेर दोषी पत्ता लगाई कानुनी कारबाही गर्नसमेत आग्रह गरिएको छ ।

यसैबीच गाउँपालिकाको केन्द्रका विषयमा विवादपछि भएको झडपमा परी घाइते भएका बैतडीको सुर्नया गाउ“पालिकाका अध्यक्ष वीरबहादुर विष्टलाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ । अध्यक्ष विष्टलाई बिहीबार बिहान थप उपचारका लागि धनगढी पठाइएको बैतडीका प्रहरी प्रमुुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुुभयो ।

विष्टको टाउकोमा चोट रहेको छ। जिल्लामा सुविधासम्पन्न अस्पताल नहुँदा अध्यक्ष विष्टलाई थप उपचारका लागि धनगढी पठाइएको प्रहरीले जनाएको छ । बुधबार गाउँपालिकाको केन्द्रको विषयलाई लिएर गाउँपालिका अध्यक्ष वीरबहादुर विष्टमाथि कुटपिट भएको थियो ।

सुर्नया गाउँपालिकाको केन्द्र पबितामा सार्न खोजेको भन्दै स्थानीयहरुले केही दिनअघि तालाबन्दी गरेका थिए । केन्द्रका विषयमा बुधबार दिनभरि छलफल हुँदासमेत निष्कर्षमा नपुगेपछि बेलुका ताला खोल्न खोज्दा झडप भएको थियो ।

यस्तै झडपमा परेर ५ जना प्रहरी पनि घाइते भएका छन् संघर्षरत पक्षका ६ जना घाइते भएका छन् भने अध्यक्ष विष्टसँग रहेका अन्य तीनजना घाइते भएका छन् ।

यस्तै गाउँपालिका अध्यक्ष वीरबहादुर विष्टमाथि आक्रमण तथा कुटपिट गर्ने व्यक्तिको खोजी कार्य जारी रहेको प्रहरी नायब उपरीक्षक अधिकारीले बताउनुुभयो ।

प्रहरी निरीक्षक नेतृत्वमा प्रहरी टोली तथा सशस्त्र प्रहरी खटाएर उनीहरुको खोजी कार्य भइरहेको हो । घटनाको सूक्ष्म अनुसन्धान भइरहेको र उनीहरुलाई नियन्त्रणमा लिएर कानुुनी कारबाही गरिने प्रहरी नायब उपरीक्षक अधिकारीले बताउनुभयो ।