मनसुन बाहिरिन अझै केही दिन लाग्ने

0
Shares

काठमाडौं, (नेस)

घटस्थापनाको दिन नजिक आइरहेको बेला नेपालबाट मनसुन बाहिरिन अझै केही दिन लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले बुधबार एक बुलेटिन निकालेर यस वर्षको मनसुन सुदूरपश्चिम र कर्णाली प्रदेशबाट असोज २५ मा नै बहिर्गमन भइसकेको भए पनि बाँकी भू–भागबाट मनसुन बाहिरिन अझै केही दिन लाग्ने जनाएको छ ।

नेपालको केही भू–भागमा बाँकी भएको मनसुनी प्रणाली कमजोर अवस्थामा रहेकाले तत्काल ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो । नेपालबाट मनसुन बाहिरिने औसत समय सेप्टेम्बर २३ हो । यस वर्ष पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहिरहेकाले मनसुन बाहिरिन ढिलो भएको मौसमविद्को भनाइ छ ।

गत वर्ष पनि मनसुन अक्टोबर १२ मा बाहिरिएको थियो । यस वर्ष अझै केही दिन ढिलो हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाले नियमितरुपमा मनसुन बहिर्गमन प्रक्रियालाई अनुगमन गरिरहेको बताइएको छ । हाल प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदली रहेको छ ।

राति प्रदेश नं १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भू–भागमा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी भू–भागमा आंशिक बदलीको सम्भावना रहनुका साथै प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार हिजो बुधबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १७ दशमलव शून्य र अधिकतम तापक्रम २९ दशमलव ४ डिग्री सेल्सियस रहेको थियो । त्यस्तै सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ५ दशमलव ५ डिग्री र सबैभन्दा धेरै वीरेन्द्रनगरको अधिकतम तापक्रम ३५ दशमलव ५ डिग्री सेल्सियस रहेको थियो ।