प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् विस्तार

0
Shares

काठमाडौं, (नेस)
लामो विवादपछि मन्त्रीमण्डलले पूर्णता पाएको छ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मन्त्रीमण्डल पुनर्गठन गर्ने सहमति भएपछि खाली रहेका मन्त्रालयमा मन्त्री तोकिएको छ भने केही मन्त्रीको मन्त्रालय हेरफेरसमेत भएको छ ।
प्रधानमन्त्री ओलीले १२औं पटक मन्त्रिपरिषद् विस्तार गर्दै रिक्त रहेको अर्थ मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि र शहरी विकास मन्त्रालयमा मन्त्री नियुक्त गर्नुभएको छ ।
पार्टीका महासचिवसमेत रहनुभएका विष्णु पौडेलले अर्थ मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ भने उपप्रधान तथा रक्षामन्त्रीको जिम्मेवारीमा रहनुभएका ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सारिएको छ ।
त्यस्तै शहरी विकासमन्त्रीको जिम्मेवारी कृष्णगोपाल श्रेष्ठलाई दिइएको छ । लीला श्रेष्ठलाई महिला, बालबालिका तथा सामाजिक विकासमन्त्री बनाइएको छ भने पार्वत गुरुङलाई सूचना तथा सञ्चार प्रविधि मन्त्रीका रुपमा सरुवा गरिएको छ । गुरुङ यसअघि महिला, बालबालिका तथा सामाजिक विकासमन्त्रीको रुपमा कार्यरत रहनुभएको थियो । नयाँ नियुक्त भएका तीनै जना मन्त्री प्रधानमन्त्री ओली निकटका मानिन्छन् ।
नवनियुक्त मन्त्रीहरुलाई आज बिहीबार राष्ट्रपति कार्यालयमा शपथ गराइने भएको छ । अन्य मन्त्रीको मन्त्रालय यथावत् राखिएको छ भने रक्षा मन्त्रालय ओली आफैले राख्नुभएको छ ।