विश्व मानसिक स्वास्थ्य दिवस र गर्नुपर्ने प्रण

564
Shares

प्रज्वल घिमिरे

विशेष गरी आर्थिकरूपले र सम्बन्धहरूको आधारमा बढ्दै गइरहेको मानवीय तनाव आज विश्वभरि चुनौतीको रूपमा खडा भएको छ । सामान्यरूपले मनन गर्दा खास गरी जब कुनै मानिसको इच्छा र चाहना पूरा हुँदैन, तब उसलाई नैराश्यताका कारण मानसिक समस्याको अनुभव हुन थाल्छ । मनको विज्ञानको जटिलतालाई मै हुँ भन्ने मनोवैज्ञानिकले पनि केस्रा–केस्रा छुट्याएर वास्तविक समस्याको पहिचान गर्न धेरै ठूलो कसरत गर्नुपर्ने हुन्छ । जुन किताबी अध्ययनभन्दा पनि व्यावहारिकरूपले बढी सम्भव हुन्छ । विश्वभरि नै मानसिक समस्याको अध्ययन र त्यसको निराकरणका लागि अनुसन्धानहरू धेरै भैसक्दा पनि वास्तविकरूपले समस्याको पहिचान हुन नसकेको र समाधानमा पूर्ण सफलता पाउन नसकेको कारण पनि यही नै हो ।

मान्छेको जीवनमा जिउने क्रममा आउने विभिन्न बाधा–अड्चन सरल र सहज ढंगले त्यस्तो व्यक्तिले समाधान गर्न सक्छ, जो आत्मिकरूपले बलियो हुन्छ र उसका वरिपरि बलिया साथहरू हुन्छन् । तर एउटा कमजोर आत्मबल भएको र सहयोगी हातहरू नभएको मान्छे आफ्नो जीवनमा आएका सामस्यादेखि तर्सन्छ र क्रमशः समस्या समाधान गर्न नसकी तनावलाई व्यहोर्न पुग्छ ।

अहिले विश्वमा मानसिक समस्या अनुभव गरेका व्यक्तिहरू सबै आत्मिकरूपले कमजोर छन् भन्न त नसकिएला तर धेरैजसो यो समस्याको अनुभव गर्नेहरू समाजमा आफ्नो अस्तित्व र औचित्यताको लडाइँ लड्न नसकी तनावको सिकार भएका छन् भन्नचाहिँ सहजै सकिन्छ । मानसिक समस्या अनुभव भएको व्यक्ति क्षमता हुँदाहुँदै पनि समाजमा स्थापित हुन सक्दैनन् र तिनले यो कुरा अरू मानसिक समस्या ठीक भएको मान्छेको तुलनामा सजिलै महसुस गर्न पनि सक्छन् ।

हुन त संसारभरि मानसिक समस्या अनुभव गरेकाहरूका लागि समाधानका उपायहरू प्रशस्तै निस्किसके तर त्यो पूर्णरूपले सफल हुन सकेको छैन । यसको कारण केवल समस्याको जानकारी दिने र मौखिकरूपले सल्लाह दिँदैमा समस्या समाधान हुन्छ भन्ने सोच नै हो ।

तर पनि मानसिक समस्या अनुभव गरेकाहरूका लागि व्यवहारिकरूपले केही ठोस कामहरू विश्वभरि नभएका होइनन्, परन्तु पर्याप्त मात्रामा हुन सकेका छैनन् भनेरचाहिँ अहिले विश्वभरि विकराल बन्दै गएको यो समस्याले पुष्टि गर्दछ ।

तसर्थ, यस वर्षको विश्व मानसिक स्वास्थ्य दिवसमा माथिका कुराहरूप्रति यस क्षेत्रमा संलग्न व्यक्तिहरूले आफ्नो ध्यान केन्द्रित गर्न सकेको भए यो समस्याको सामना गर्नेहरू सबैले राहतको अनुभव गर्न सक्ने थिए । नत्र सधैँ समस्याका सम्बन्धमा कुरा धेरै गर्ने, समाधानका उपायहरूको खोजी पनि धेरै गर्ने तर व्यावहारिकरूपले मनोसामाजिक अपांगता भएका मान्छेहरूको समस्या समाधानार्थ क्रियाशील नहुने हो भने यो समस्या सदैव समस्याकै रूपमा मात्रै रहनेछ ।

मैले भन्न खोजेको गाँठी कुराचाहिँ के हो भने, कुनै पनि मनोसामाजिक अपांगता भएको व्यक्तिलाई खाली सल्लाह र औषधिको व्यवस्थाले उसको समस्या समाधान गर्न खोज्यो भने त्यसले दीर्घकालीनरूपले सार्थक परिणाम दिँदैन । सर्वप्रथम, एउटा मानसिक समस्या अनुभव गरेको व्यक्तिको के गर्ने चाहना छ ? कसरी ऊ आफ्नो जीविकोपार्जन गर्न चाहन्छ ? त्यसका लागि उसलाई के चिजको आवश्यकता पर्दछ ? आदि कुराहरूको जोहो मिलाई उसलाई काम गर्ने वातावरण प्रेमपूर्वक मिलाइदियो भने ऊ खुशी हुन्छ ।

अनि उसको आधा मानसिक समस्या त्यसै समाधान हुन्छ । जसले उसलाई कसैको भार भएर बाँच्न नपर्ने बनाइदिन्छ । मानसिक समस्या समाधानार्थ लडिरहेकाहरूले विश्व मानसिक स्वास्थ्य दिवसमा के बुझ्नुप¥यो भने, हरेक मान्छे जो यो समस्याको अनुभव गरिरहेका छन् तिनको कुनै न कुनै काममा रूचि हुन्छ र क्षमता पनि । तिनको रूचि र क्षमतामा तिनलाई केन्द्रित गराई औषधि र सल्लाह मात्र होइन काम गर्ने वातावरण निर्माण गर्नका लागि तिनलाई के गर्न सकिन्छ, त्यो गर्नुप¥यो ।

अनि बल्ल उनीहरू काममा व्यस्त हुन्छन् । काममा व्यस्त भएपछि उनीहरूको दिमाग खालि हुँदैन अनि सैतानले उनीहरूको दिमागमा बास पनि बस्दैन ।

एउटा मानसिक स्वास्थ्य राम्रो भएको मान्छे कामविहीन भएर बस्यो भने उसको मानसिक स्वास्थ्य बिग्रने सम्भावना बलियो हुन्छ । झन् त्यसमाथि पहिल्यैदेखि मानसिक स्वास्थ्य ठीक नभएको मान्छे कुनै कामै नगरी त्यसै बस्यो भने उसको मानसिक स्वास्थ्य बिग्रने निश्चित नै हुन्छ । जुन कुरालाई कोभिड–१९ का कारण अहिले विश्वभरि प्रायः देशमा भएको बन्दाबन्दीले पनि छर्लङ्ग पारिदिएको छ ।

तसर्थ, विश्व मानसिक स्वास्थ्य दिवसमा मानसिक स्वास्थ्यका लागि लडिरहेका संसारका सबै मान्छेले के बुझ्नुप¥यो भने, मानसिक समस्या अनुभव गरिरहेका सबै व्यक्तिलाई केवल सल्लाह र औषधि मात्र समस्या समाधानका लागि पर्याप्त हु्ँदैन, जीविकोपार्जनका लागि उनीहरूलाई व्यस्त राख्नुपर्ने उपायहरूको व्यावहारिकरूपले कार्यान्वयन गर्न सक्नुप¥यो ।

साथै ‘सबैका लागि मानसिक स्वास्थ्य’, पर्याप्त लगानी, व्यापक पहुँच’, ‘जसलाई पनि जहाँ पनि’ भन्ने यसपालिको नारालाई आधार बनाएर मानसिक स्वास्थ्य ठीक नभएकाहरू जो, जहाँ, जति भए पनि तिनलाई अन्य दीर्घरोग, उच्च रक्तचाप, मधुमेहको लागि झैँ पर्याप्त लगानी गरी सरकारले उनीहरूको उपचारमा पहुँच गराउन सक्नुपर्छ ।

यसपालिको विश्व मानसिक स्वास्थ्य दिवस केवल दिवसमा मात्र सीमित नभई मानसिक समस्या अनुभव गरेकाहरूको लागि एउटा सकारात्मक र सार्थक परिणाम दिने कोसेढुंगा पनि बन्न सक्थ्यो । साथमा हरेक देशको सरकार र विशेष गरी नेपाल सरकारले पनि यो दिवसको अवसरमा मानसिक समस्या अनुभव गरेका व्यक्तिहरूको राजनीतिक अधिकार, मानवअधिकार र सामाजिक दायित्व निर्वाह गर्न सक्ने हैसियतको संरक्षण गर्ने प्रण गर्न सक्यो भने पनि मानसिक समस्या अनुभव गरेकाहरूले राहतको महसुस गर्न सक्ने थिए ।