पनालीगैराका दलित बस्तीमा खानीपानी


विमल विष्ट, डोटी
जोरायल गाउँपालिका–२ को पनालीगैराको दलित बस्तीमा खानेपानी पुगेको छ । खानेपानी पुगेसँगै नागरिकले वर्षौंपछि शुद्ध पानी पिउन पाउने भएका छन् ।
पानी पुगेसँगै घण्टौं टाढा पानीका लागि धाउनुपर्ने झन्झटबाट मुक्त भएको स्थानीय रामबहादुर विकले बताउनुभयो । जोरायल गाउँपालिकाको ३५ प्रतिशत, ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको ३९ प्रतिशत र उपभोक्ताको २६ प्रतिशत श्रमदान गरी कुल रु २९ लाख ९१ हजार ६ सय २२ रुपियाँको लागतमा पनालीगैरा खानेपानी तथा सरसफाइ योजना निर्माण कार्य गरिएको सहजीकरण गर्ने संस्था केदार ग्रामीण विकास समाज नेपाल डोटीका फिल्ड संयोजक राम दाहालले बताउनुभयो ।
विसं २०७६ पुस २९ गतेबाट निर्माण कार्य शुरु गरिएको उक्त योजनाको काम सम्पन्न भएपछि मंगलबार उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको उहाँको भनाइ छ ।
उक्त योजनाबाट पनालीगैरा गाउँका २० घरधुरीका १ सय ३५ दलित परिवार प्रत्यक्ष लाभान्वित भएको जोरायल गाउँपालिकाका उपाध्यक्ष जमुनाकुमारी बोहराले बताउनुभयो । ‘गाउँमा पानी नहुँदा दलित परिवारले पीडा सास्ती बेहोरेको थियोे, निकै प्रयासपछि शुद्ध पानी आएको छ ।’ –उहाँले भन्नुभयो ।
विगतमा खानेपानी नभएकै कारण गाउँका अधिकांश मानिस बसाइँ गएको विकले बताउनुभयो । मुहानदेखि गाउँसम्मको कुल ४ हजार १ सय ३० मिटर लम्बाइ रहेको मेन लाइन र १ हजार ५ सय ६० मिटर लम्बाइको शाखा लाइन निर्माण, ट्यांकी निर्माण, १८ वटा खानेपानीका धारा निर्माण र प्रत्येक २० घरधुरीमा भाँडा राख्ने चाङ निर्माण गरिएको फिल्ड संयोजक दाहालले जानकारी दिनुभयो ।