सम्भावित सडक दुर्घटना रोक्न प्रहरीको अभियान


नानीराम नेपाल, सिन्धुपाल्चोक
चाडपर्व नजिकिँदै गर्दा सवारी दुर्घटना न्यूनीकरणमा सिन्धुपाल्चोक प्रहरीले अभियान शुरु गरेको छ । मंगलबार बलेफी गाउँपालिका–७ स्थित खाडीचौरमा एक कार्यक्रम गर्दै जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले ‘सवारी दुर्घटना न्यूनीकरण अभियान–२०७७’ शुरु गरेको हो ।
सडक र सवारीसँग सम्बन्धित तथा सरोकारवालाहरुलाई भेला गरेर सवारी दुर्घटना रोक्न प्रहरीले तदारुकता देखाएको छ । ‘चाडपर्वका समयमा दुर्घटनाको जोखिम धेरै छ, सम्भावित दुर्घटना रोक्न सरोकारवालाहरुसँग साझेदारी गर्दै सचेतना अभियान सुरु गरेका हौं ।’ –जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले भन्नुभयो ।
सवारी दुर्घटना न्यूनीकरण अभियान आरम्भ समारोहमा स्थानीय सरकार प्रमुख, यातायात व्यवसायी, सञ्चारकर्मी तथा स्थानीय अगुवाहरुले दुर्घटना रोक्न हातेमालो गर्दै जुट्ने प्रण गरेका छन् । सवारी दुर्घटनाका घटनाबाट सिन्धुपाल्चोकले भयावह क्षति व्यहोरिरहेको स्मरण गर्दै बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले सरोकारवालाहरु जुटेर नै दुर्घटनाका घटना रोक्नुपर्ने बताउनुभयो । यातायात व्यवसायी र ट्राफिक प्रहरीबीच समझदारी भएमा दुर्घटना न्यूनीकरण हुने भन्दै अध्यक्ष क्षेत्रीले व्यवसायी–प्रहरीबीच असमझदारीको अवस्था अन्त्य गर्नुपर्ने बताउनुभयो ।
सुनकोसी गाउँपालिकाका अध्यक्ष श्रवणकुमार जिसी सवारी नियमको पालना हुन सके दुर्घटना न्यूनीकरण हुने बताउनुहुन्छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारीले सडक दुर्घटनाका क्षति कहालीलाग्दो रहेको स्मरण गर्दै मानवीय कारणले नै सवारी दुर्घटना हुने बताउनुभयो ।
सरोकारवाला र सम्बन्धित पक्ष सबै जुटेर सडक दुर्घटना रोक्नका लागि लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।