मनमोहन बन्ने भयो अनुसन्धान केन्द्र


विराटनगर, (नेस)
मनमोहन प्राविधिक विश्वविद्यालय अब अनुसन्धान केन्द्र बन्ने भएको छ । अनुसन्धान केन्द्र बनाउन सोमबार राति अनलाइनमार्फत विश्वविद्यालयका प्रमुख डा. सुवासश्री पोखरेल र परिषद्का अध्यक्ष डा. महावीर पुनबीच सम्झौता भएको हो ।
विश्वविद्यालयलाई अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने उद्देश्यसहित सम्झौता गरिएको विश्वविद्यालयका प्रमुख डा. पोखरेलले बताउनुभयो । उहाँका अनुसार दुवै पक्षले कृषि, वन, शिक्षा, स्वास्थ्य, पर्यटन, विज्ञान, प्राविधि, वातावरण, उद्योग, सेवा र नवीनतम क्षेत्रमा अनुसन्धान गर्नेछन् । मनमोहन विश्वविद्यालयले अनुसन्धान केन्द्र स्थापनाका लागि आवश्यक जनशक्ति, भौतिक पूर्वाधार र अन्य स्रोतको व्यवस्था गर्ने सम्झौतामा उल्लेख छ ।
सम्झौताअनुसार विश्वविद्यालयलाई अनुसन्धान केन्द्र स्थापनाका लागि आवश्यक पर्ने आर्थिक तथा प्राविधिक सहयोग, सल्लाह, सुझाव र अन्य सहयोग राष्ट्रिय अनुसन्धान परिषद्ले गर्नेछ । सम्झौता कार्यक्रममा सामाजिक विकासमन्त्री जीवन घिमिरेले सिर्जनात्मक कामको थालनी भएको बताउनुभयो । उहाँले अनुसन्धानको जग बसाउने काम शुरु भएकाले मनमोहन विश्वविद्यालय चाँडै अनुसन्धानको केन्द्र बन्ने बताउनुभयो ।
राष्ट्रिय अनुन्धान परिषद्का अध्यक्ष डा. पुनले अनुसन्धान केन्द्रलाई राष्ट्रिय आविष्कार केन्द्रको मोडलमा सञ्चालन गरिने बताउनुभयो । उहाँले सिजनशील र प्रतिभाशालीले अनुसन्धान गरी उद्यमी बन्न सक्ने उहाँले बताउनुभयो । उहाँले अनुसन्धान कार्यमा कन्जुस्याईं गर्न नहुने बताउनुभयो ।
सम्झौता कार्यक्रममा मनमोहन प्राविधिक विश्वविद्यायका प्रमुख डा. सुवास श्री पोखरेल, नेपाल सरकारका पूर्वसचिव रामेश्वर खनाल, सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीलगायतले बोल्नुभएको थियो ।