शिविरका बिरामीमा कोरोना


स्याङ्जा, (नेस)
स्याङ्जाको चापाकोटमा सञ्चालित निःशुल्क आँखा शिविरमा आँखा परीक्षण गर्न आएका केही बिरामीमा कोरोनाको पुष्टि भएको छ । बीएम फाउन्डेसनले कोरोना कहरका बीच आयोजना गरेको निःशुल्क आँखा शिविरमा परीक्षण गर्न आएका बिरामी, चिकित्सक तथा आयोजकको सम्पर्कमा आएकाहरुको कन्ट्रयाक ट्रेसिङ गर्दा १४ जनामा कोरोना पुष्टि भएको हो ।

शिविरका आयोजक तथा फाउन्डेसनका अध्यक्ष डाक्टर बुद्धिमान श्रेष्ठ तथा आँखा परीक्षण गर्न चापाकोट आएका चिकित्सकमा कोरोना पुष्टि भएपछि उनीहरुको सम्पर्कमा आएकाहरुको परीक्षण गरिएको चापाकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बिन्दु कोइरालाले बताउनुभयो ।

भीटीएमको अभावमा पहिलो चरणमा ३९ जनाको स्वाब संकलन गरिएकोमा १४ जनामा कोरोना पुष्टि भएको हो । निःशुल्क आँखा शिविर चलाएको फाउन्डेसन भने बिरामीलाई कोरोना संक्रमण देखिएकोप्रति बेखबर रहेको छ । चापाकोट नगरपालिकाका १० जना पुरुष र ४ जना महिला गरी १४ जनामा कोरोना सङक्रमण देखिएको स्वास्थ्य शाखा प्रमुख कोइरालाको कथन छ ।