प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना


बैतडी, (नेस)
बैतडी प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना बनाएको छ छ । चाडपर्वमा हुन सक्ने विभिन्न खालका अपराधलाई नियन्त्रण गर्नका लागि प्रहरीले सुरक्षा योजना बनाएको हो ।
चाडपर्वमा हुन सक्ने अपराधका घटनालाई रोक्नका लागि प्रहरीले सुरक्षा योजना बनाएर काम गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताउनुभयो । चाडपर्वका बेला हुन सक्ने अपराधलाई नियन्त्रणका लागि जिल्लाभर सादा पोशाकका प्रहरी परिचालन गरिएका छन् । १३ ठाउँमा नागरिक सहायता कक्ष र प्रहरी सहायता कक्ष सञ्चालन गरिएको प्रहरी नायव उपरीक्षक अधिकारीको कथन छ ।
यस्तै अवैधरूपमा हुने मदिराको बिक्री–वितरण र सेवनमा रोक लगाउने, जुवातास पूर्णरूपमा निषेध गर्ने कुरा प्रहरीको सुरक्षा योजनामा समेटिएको छ । दशैंका बेला हुन सक्ने सबै प्रकारका जात्रामा रोक लगाउने, कोभिड–१९ को महामारी रोकथाम तथा नियन्त्रणका लागि भीडभाड हुने खालका कार्यक्रम गर्न नदिने कुरा पनि प्रहरीको सुरक्षा योजनामा समेटिएको छ ।
समाजमा हुने विभिन्न खालका अपराधहरुलाई निस्तेज पार्न प्रहरीले विशेष टोली परिचालन गर्नेलगायतका कुराहरु सुरक्षा योजनामा समेटिएको प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिनुभयो ।