विद्युत् आपूर्ति नहुँदा नेपाली कागज उद्योग बन्द


बागलुङ (नेस) । नियमित विद्युत् आपूर्ती नहुंदा पाण्डवखानी नेपाली हाते कागज उद्योग बन्द भएको छ । गलकोट नगरपालिका–१० पाण्डवखानीमा रहेको घुम्टे हाते कागज उद्योग पछिल्लो ७ महिनादेखि बन्द अवस्थामा रहेको छ ।
केन्द्रीय विद्युतको पहुँच नपुगेको पाण्डवखानीमा स्थानीय लघु जलविद्यतको उत्पादन विस्तारै घट्दै गएपछि गत वर्षको माघदेखि उद्योग सञ्चालन हुन सकेको छैन ।
पाण्डवखानीको सामुदायिक तथा नीजि वनमा पाइने अर्घेली र बरुवा जातको रुखबाट उत्पादन हुने लोक्ता प्रशस्त पाइने भएपछि स्थानीय चुडाबहादुर रानाले चार वर्षदेखि नेपाली हाते कागज उद्योग सञ्चालन गर्दै आउनु भएको थियो । लघु जलविद्युतबाट सञ्चालन गरिँदै आएको हाते कागज नियमित विद्युत् आपूर्तिमा समस्या आएपछि बन्द भएको हो ।
लोक्ताको अभाव नभएका कारण भने जति उत्पादन गर्न सकेको उद्योगमा पाँच जनाले नियमित रोजगारी पाउँदै आएका थिए । यहाँ उत्पादन हुँदै आएको नेपाली हाते कागज बागलुङ, पोखरा र काडमाडौँमा बिक्री हुँदै आएको थियो ।
हाते कागज उद्योगमा झण्डै ५० लाख भन्दा बढी लगानी गरिसकेको रानाले बताउनुभयो । पछिल्लो समय निरन्तर उद्योग चल्दा राम्रै आम्दानी हुन थालेको भएपनि विद्युत् उत्पादनमा कमी आउँदा उद्योग बन्द भएको हो ।
उद्योगमा स्थानीय माउखोला लघुजलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् प्रयोग गरिँदै आएको थियो । उद्योगलाई नियमित ८ किलोवाट विद्युत् आवश्यक भए पनि लघु जलविद्युतले १२ किलोवाट मात्रै विद्युत् उत्पादन गरेपछि स्थानीयलाई मात्रै विद्युत् बाल्न पुगेको छ । पूरा क्षमताको विद्युत् आपूर्तीमा समस्या भएपछि विद्युतीय उपकरणमा समेत क्षति पुग्ने गरेको छ । हाते कागजको निकै सम्भावना रहेको पाण्डवखानीमा उद्योगलाई पुनः सुचारुका लागि केन्द्रिय विद्युतको आवश्यकता देखिएको छ ।
अहिले पाण्डवखानीमा केन्द्रीय विद्युतिकरणका लागि पोल गाड्ने र तार टाँग्ने काम भइरहेको नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले जनाएको छ । केन्द्रीय विद्युतिकरणका लागि केही महिना लाग्ने नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख शिवनारायण गोशलीले जानकारी दिनुभयो ।