मोबाइल थिएटरमा कोपिला



निर्मला बलात्कार काण्डमा आधारित फिल्म कोपिला ओएसआर डिजिटलको दामी म्युजिक एपमा रिलिज भएको छ।केही समयअघि डिस होममा रिलिज भएको फिल्म शुक्रबारबाट मोबाइल थिएटरमा रिलिज भएको हो।

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा आधारित कोपिला दामी म्युजिक एपको मोबाइल थिएटरमा दैनिक ४ शो रिलिज भइरहेको छ। प्रतिटिकट ७५ रुपियाँ कायम गरिएको मोबाइल थिएटरमा मोबाइल थिएटरको हल वानमा कोपिला रिलिज गरिएको हो।

ओएसआर डिजिटलसँगको सहकार्यमा सञ्चालित दामी म्युजिक एपको मोबाइल थिएटरमा ४ वटा पर्दा छन्। यसमा एकपटक टिकट काटिसकेपछि ७२ घण्टाभित्र फिल्म हेर्नुपर्नेछ। अन्यथा अर्को टिकट काट्नुपर्ने दामी म्युजिक एपको नियम छ। यो आर्काइभ थिएटर भन्ने होइन। हलमा जस्तै यसमा शोअनुसार फिल्म चल्ने गर्छ।

शिवम् अधिकारीको लेखन तथा निर्देशन रहेको फिल्मलाई सबैले राम्रो बनेको प्रतिक्रिया दिएका छन्। फिल्ममा कलाकारहरु गणेश गिरी, सरिता गिरी, सञ्जीवनी खरेल, प्रकृति खरेल, जुनिफर पौडेल, श्रेया आचार्यलगायतको अभिनय रहेको छ। फिल्ममा निर्मलाको भूमिकामा सञ्जीवनीले अभिनय गरेकी छिन्।

यो उनको डेब्यु फिल्म भए पनि दर्शकले उनको अभिनय रुचाएका छन्। त्यस्तै, आमाको भूमिकामा रहेकी सरिता गिरीको अभिनयको पनि प्रशंसा भएको छ। फिल्ममा निर्मला पन्तको हत्यारा पत्ता नलाग्दा देखिएको राजनैतिक चलखेल र निर्मलाको परिवारमा परेको मनोवैज्ञानिक परिस्थिति देखाइएको छ। फिल्ममा रामेश्वर कार्कीको छायांकन, दीपक शर्माको संगीत र समीर मियाको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्